धरानका मेयर हर्क साम्पाङले छोराका नाममा भावुक सम्वोधन गरेका छन् । उनी लेख्छन् – “देशभक्त बाऊको अभागी छोरो…
छोरा, तिमीले मैले भन्दा धेरै त्याग गर्नु पर्छ र गरिरहेकै छौ ! म त लाहुरेको छोरो भएर हुर्कें, मेरो बाऊ अर्थात तिम्रो बाजेले मलाई समय दिनुभयो, मेरा चाहनाहरू पूरा गरिदिनुभयो तर तिमी एउटा देशभक्तको छोरा बनेर जन्मियौ ! मैले तिमीलाई समय दिन सकिनँ, सकिरहेको छैन ! तिम्रो रहरका खेलौना र सरसामान किन्न सकिरहेको छैन !
म भ्रष्टाचार र कमिसन खाने मान्छे परिनँ, त्यसैले मनग्गे पैसा खर्चेर तिमीलाई मनपर्ने सरसामान किन्न सकिरहेको छैन !
म यो देश बनाउने अभियानमा छु, त्यसैले आफैँ इमानदार बनेर यो देशलाई इमानदार र पौरखी बनाउने अभियानमा डटिरहँदा तिम्रो बालापन बाऊबिनाको टुहुरोको जस्तो बितिरहेको छ !
बाऊसँग हिँड्ने, घुम्ने रहरहरू पूरा नगरिकनै बितिरहेको छ ! यो तिम्रो त्याग हो ! मैले तिम्रो लागि केही पनि सम्पत्ति जोडिदिएको छैन ! तिम्रा दुई हात बजाएर खानेछौ र आफ्नो पहिचानसहित तिमीले आफ्नो पेट पाल्नेछौ भन्ने विश्वास लिएको छु ! यही देशमा गरिखाने र बाँच्न सक्ने वातावरण बनाउन मैले र तिमीले, हामी दुईले यो त्याग गर्नु परेको हो !
यो देशलाई समर्पित गरिसकेको जीवन बाँच्ने मान्छेको महान त्यागी छोरा हौ तिमी ! अहिले तिमीले यो मेरो लेखको अर्थ बुझ्न सक्दैनौ, तर जुन दिन बुझ्ने उमेरको बन्नेछौ, त्यो दिन तिम्रो बाऊले (मैले) गरेको कर्म र चुनेको बाटो गलत थिएन रहेछ भन्ने बुझ्नेछौ ! यो देश नै मेरो घर र सारा नेपाली मेरो परिवार सम्झेर देश बनाउन मैले गरेको त्याग र प्रयासको कारण तिम्रो बालापन बाऊबिनाको टुहुरोको जस्तो तरिकाले बितिरहेको छ !
तिमीलाई जति माया मैले यो देशका हरेक बालबालिकालाई गर्नुपर्छ ! यो देशका हरेक बालबालिकाको भविष्य र खुशीका लागि संघर्ष, प्रयास र श्रम गर्नु पर्दा मैले तिमीलाई समय दिन नसकेको हो ! मैले बुझेर त्याग गरिरहेको छु ! तिमी अबोध भएरै पनि त्याग गर्न बाध्य भइरहेका छौ !
तिमीले गरेको त्याग मैले गरेको भन्दा ठूलो त्याग हो किनभने तिम्रो त्याग निर्दोष छ, अबोध छ !
“अरूको बाबाले घुमाउन लान्छन् त ! खोइ त बाबाले मलाई घुमाउन लानु हुन्न त ! किन ?” भनेर तिमीले आमालाई सोध्छौ रे ! तिम्रो प्रश्नले मेरा आँखा रसाउँछन् तर ओठले बोल्न सक्दैनन् ! त्यो तिम्रो प्रश्नको जवाफ म कसरी दिऊँ छोरा ? मसँग तिम्रो प्रश्नको उत्तर छैन ! भए पनि तिमीलाई बुझाउन सक्दिन ! तिमी अबोध र निर्दोष छौ !
तिमीले गरिरहेको त्याग मेरो त्याग भन्दा ठूलो छ ! मैले त बुझेर त्याग गरें, तर तिमीले… तिमीले त बुझ्नसम्म पाएनौ कि “तिम्रो बाबाले किन तिमीलाई समय दिनु भएन ! तिम्रा साथीहरूलाई उनीहरूका बाबाले किनिदिए जस्तै खेलौना र रहरका सामानहरू किन किनिदिएनन् !”
I am sorry. I could not be a good father to you at the moment. तर एक दिन तिमी बुझ्ने भएपछि, ठूलो भएपछि, तिमी मलाई माफ गरिदिनेछौ र तिम्रो बाबाले गरेको कर्म, तिम्रो बाबाले यो देशलाई गरेको माया र देशका लागि अर्पिएको जीवनलाई महसुस गरेर खुशी र गर्व महसुस गर्नेछौ !
तिमी र तिमी जस्ता करोडौँ बालबालिकाको भविष्य कोर्न मैले यी सारा दुःख र त्याग गर्दा तिमीले पनि आफ्नो भागको त्याग गर्नु परेको रहेछ भन्ने थाहा हुँदा तिम्रा आँखा खुशीले रसाउनेछन् ! हो, तिमी खुशीले रुनेछौ त्यो दिन !
छोरा, तिमी महान छौ ! त्याग गर्ने छोरा हौ तिमी ! तिमी महान छौ !
