काठमाडौं — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जेन–जी आन्दोलनमा भएको निर्मम दमनका जिम्मेवार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई तत्कालै पक्राउ गर्नुपर्ने माग गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै त्रिपाठीले २३ गतेको आन्दोलनका क्रममा शान्तिपूर्ण प्रदर्शनमाथि भएको बर्बरताको कानूनी हिसाबकिताब अब ढिला गर्न नहुने बताएका हुन्।
उनले भने, “जेन–जी पुस्ताले लोकतन्त्र र सुशासनको लागि पवित्र भावनाले आन्दोलन गरे, तर निर्मम दमन भयो। यसमा संलग्न प्रधानमन्त्रीदेखि सीडीओसम्म सबैलाई अहिले नै गिरफ्तार गर्नुपर्छ। राहदानीसमेत जफत गर्नुपर्छ, होइन भने भाग्छन्।”
त्रिपाठीले वर्तमान सरकारले आन्दोलनकै आधारमा वैधता पाएको भन्दै अबको मुख्य कार्य चुनाव गराउनु मात्र भएको स्पष्ट पारे। “यो सरकारको वैधता आन्दोलनको शक्तिबाट आएको हो। अब चुनाव गर्नैपर्छ, विकल्प छैन। चुनाव नभए मुलुक दुर्घटनामा पर्छ,” उनले चेतावनी दिए।
त्यसैगरी, उनले सम्पूर्ण नेताहरुको सम्पत्ति छानबिन गरी जफत गर्नुपर्ने माग पनि गरे। “घर–घरमा छापा मार्नुपर्छ। सबै पैसा जफत गरियो भने पाँचवटा सिंहदरबार बनाउन सकिन्छ,” उनले व्यंग्य गर्दै भने।
त्रिपाठीका अनुसार दमनमा संलग्नहरूमाथि कारबाही र नेताहरुको सम्पत्ति जफत नगरेसम्म मुलुकमा सुशासन सम्भव छैन।
