नयाँ सरकार गठन भएपछि सुदन गुरुङ नेतृत्वको समूहले आगामी ६ महिनाभित्र हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन नयाँ राजनीतिक पार्टी गठनको तयारी थालेको छ।
गुरुङ समूहले जेन–जी आन्दोलनमा संलग्न युवाहरूलाई एकै मंचमा ल्याएर राजनीतिक शक्ति सुदृढ गर्ने उद्देश्य राखेको छ। सुदन गुरुङलाई पार्टीको केन्द्रीय संयोजकको जिम्मेवारी दिइएको छ भने सातवटै प्रदेशमा अलग–अलग संयोजकहरू नियुक्त भएका छन्। कोशी प्रदेशमा उपार्जुन राई, मधेशमा शिव यादव, बागमतीमा किरण आचार्य, गण्डकीमा प्रदीप पाण्डे, लुम्बनीमा आदित्य आचार्य, कर्णालीमा सुप्रिया शाही र सुदूरपश्चिममा खेमराज साउद संयोजक बनाइएका छन्।
प्रदेश संयोजकहरूले आफ्नो क्षेत्रमा जिल्ला, नगर र स्थानीय कमिटी सम्मेलन आयोजना गरी पार्टीको संरचना तयार पार्ने जिम्मेवारी पाएका छन्। सम्मेलन सकिएलगत्तै दल निर्वाचन आयोगमा दर्ता गराउने तयारी छ।
गुरुङ समूहले भदौ २३–२४ को आन्दोलनलाई राजनीतिक क्रान्ति मान्दै, आगामी चुनावमा दुईतिहाइ मत ल्याएर संविधान संशोधन गर्ने, २०४६ पछि भएका भ्रष्टाचारका घटनाको अनुसन्धान गर्ने, स्रोत नखुलेका सम्पत्ति राष्ट्रियकरण गर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारीसहितको पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्ने आफ्नो चुनावी एजेण्डा बनाउने योजना बनाएको छ।
समूहले आगामी मन्त्रिपरिषद् विस्तारमा पनि जेन–जीका प्रतिनिधिहरू सहभागी हुने दाबी गरेको छ।
