जेन–जी आन्दोलनका क्रममा भाइरल बनेको रगताम्य सेतो जुत्ता दैलेख, नारायण नगरपालिका–८ का २८ वर्षीय प्रकाश बोहराको भएको खुलेको छ।
कान्तिपुरद्वारा प्रकाशित समाचार अनुसार, हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत प्रकाश आन्दोलनको पहिलो दिन संसद् भवन नजिकै प्रहरीले गोली प्रहार गर्दा घाइते भएका थिए।
प्रकाश आन्दोलनमा भाग लिन माइतीघरबाट बानेश्वरतर्फ जाँदै गर्दा गोली लागेर लडेका थिए। त्यसबेला उनको खुट्टाबाट छुटेको सेतो जुत्ता सामाजिक सञ्जालमा भाइरल बनेको थियो। पछि उनी स्वयंले अस्पतालमा रहेर भिडियो र तस्बिर नियाल्दा त्यो आफ्नै जुत्ता भएको पुष्टि गरेका हुन्।
प्रकाशको संघर्षपूर्ण जीवनकथा पनि यस जुत्तासँग जोडिएको छ। उनी केही वर्षअघि रुस–युक्रेन युद्धमा सहभागी भएर जीवित फर्किएका थिए। आफ्नै देशमा भने सुशासन र भ्रष्टाचारविरुद्धको आन्दोलनमा खुट्टामा गोली खान पुगे। हाल उनको स्वास्थ्यमा सुधार भइरहेको ट्रमा सेन्टरले जनाएको छ।
प्रकाशले आन्दोलनमा गोली लागे पनि आफ्नो बलिदानलाई अर्थहीन मान्न नमिल्ने भन्दै जेन–जीले बनाएको सरकारले सुशासन कायम गर्नुपर्ने अपेक्षा व्यक्त गरेका छन्। समाचार श्रोत : कान्तिपुर
