• Friday 9th of October 2026

टिकटक भिडियो बनाउन खोलामा हाम फालेका युवक बेपत्ता


  • धनकुटा खबर
  • .

टिकटक भिडियो बनाउन खोज्दा बारामा एक युवक खोलामा बेपत्ता भएका छन्।

प्रसौनी गाउँपालिका–२ का २१ वर्षीय विक्की गोसाईं आइतबार बिहान दुधौरा खोलामा हाम फालेपछि बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार बिहान करिब साढे ९ बजे विक्की र उनका साथी २० वर्षीय अनुराग केशरवानी टिकटक भिडियो बनाउने उद्देश्यले पुलबाट बाढी आएको खोलामा हाम फालेका थिए। अनुराग पौडिएर बाहिर निस्कन सफल भए पनि विक्की खोलाको तीव्र वहावमा परेर हराए।

प्रहरी र स्थानीय बासिन्दाले अहिले घटनास्थल वरपर विक्कीको खोजी जारी राखेका छन्। खोलामा बाढीको बहाव अझै उच्च रहेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

स्थानीयवासीले सामाजिक सञ्जालका लागि जोखिमपूर्ण भिडियो खिच्ने प्रवृत्तिले ज्यानमाथि खेलबाड हुने चेतावनी दिएका छन्। पछिल्ला वर्षहरूमा टिकटक र अन्य भिडियो प्लेटफर्मका लागि जोखिमपूर्ण क्रियाकलाप गर्दा देशभर धेरै युवाले ज्यान गुमाउने वा घाइते हुने घटना बढ्दो क्रममा छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖