• Friday 9th of October 2026

म जेनजी हो भन्दै ड्युटीमा खटिएका प्रहरीमाथि हातपात र गालीगलौज गर्ने एक युवक पक्राउ


  • धनकुटा खबर
  • .

जाजरकोटमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात र गालीगलौज गर्ने एक युवक पक्राउ परेका छन्। सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा ती युवकले आफू ‘जेनजी’ भएको भन्दै प्रहरीलाई धम्क्याइरहेको देखिन्छ।

भिडियोमा उनले प्रहरीलाई धम्कीका साथ गाली गर्नुका साथै हात हाल्न खोजेको दृश्य प्रस्ट देखिन्छ। उनलाई रोक्न आएका अन्य व्यक्तिलाई समेत उनले धम्क्याएका थिए। पाका उमेरका एक व्यक्तिले सोध्दा उनले आफू ‘जेनजी हो’ भन्दै प्रत्युत्तर दिएका थिए।

जाजरकोट प्रहरीले युवकलाई २४ वर्षीय लोकेन्द्र नाथ योगी, जुनिचाँदे गाउँपालिका–३ का स्थायी बासिन्दा भएको पुष्टि गरेको छ। आइतबार दिउँसो छेडागाड नगरपालिका–२ स्थित अस्थायी प्रहरी पोस्ट सुयाडा नजिकै यो घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार योगीसहित अन्य चार जना व्यक्ति मादक पदार्थ सेवन गरी सडकमा पल्टिरहेका थिए। ड्युटीमा रहेका प्रहरी जवानले उनीहरूलाई सडकबाट हटाउन खोज्दा योगीले प्रहरीमाथि धम्की र अभद्र व्यवहार गरेका थिए।

घटनापछि प्रहरीले उनलाई घटनास्थलमै नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक हरि राम डाँगीले जानकारी दिए।

उनका अनुसार थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट ६ दिनको म्याद थप गरी योगीलाई हिरासतमा राखिएको छ। भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा युवाको हर्कतप्रति कडा आलोचना भइरहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖