काठमाडौ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ पाँचकिलोमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा २० जना घाइते भएका छन्, जसमा तीन जना नाबालक पनि छन्।
रामेछापबाट चरिकोट हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २५२१ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
दुर्घटनापछि प्रहरी चौकी लामोसाँघुका प्रहरी नायब निरीक्षक अशोक महतोको नेतृत्वमा सात सदस्यीय टोलीले घाइतेहरूको उद्धार गरेको थियो। उद्धारपछि सबैलाई उपचारका लागि सिन्धु सदाबहार अस्पताल खाडीचौर पठाइएको हो।
हालसम्म बसमा सवार यात्रुको कुल संख्या पुष्टि हुन सकेको छैन। प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी माधवराज खरेलका अनुसार, सबै घाइतेहरूको अवस्था सामान्य रहेको छ।
