• Friday 9th of October 2026

शिक्षक नियुक्तिमा घुस लिने क्रममा प्रधानाध्यापकसहित दुई जना पक्राउ


  • धनकुटा खबर
  • .

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित जय किसान नमुना माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सञ्जय प्रसाद साह घुस प्रकरणमा पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार राति आफ्नै घरबाट नियन्त्रणमा लिएको हो।

प्रधानाध्यापक साहले विद्यालयमा आज हुने माध्यमिक तह (द्वितीय) विज्ञान विषयको शिक्षक नियुक्ति परीक्षामा पास गरिदिने भन्दै एक शिक्षकसँग साढे चार लाख रुपैयाँ घुस मागेको आरोप लागेको छ। उक्त रकम लिँदै गर्दा उनका सहयोगी अरविन्द प्रकाश साह पनि अख्तियारको फन्दामा परेका हुन् ।

स्रोतका अनुसार वीरगन्जका एक शिक्षकले परीक्षाका लागि फारम भरेका थिए । र उनीसँगै रकम मागिएको सूचनाको आधारमा अख्तियारबाट खटिएको टोलीले वीरगंजस्थित राधेमाई स्वीट्स एण्ड भोजनालयबाट सहयोगी अरविन्द प्रकाश साहलाई रंगेहात पक्राउ गरेको हो। त्यसपछि टोलीले धरहरी पुगेर प्रधानाध्यापक साहलाईसमेत नियन्त्रणमा लिएको बताइएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि शुक्रबार राति नै काठमाडौँ लगिएको अख्तियार स्रोतले जनाएको छ।

रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले पनि प्रधानाध्यापक साहलाई अख्तियारको टोलीले अनुसन्धानका लागि काठमाडौँ लगिएको पुष्टि गरेका छन्। उनले भने, “शिक्षक नियुक्तिका क्रममा घुस लिएको कुरा आएको छ, तर ठ्याक्कै के हो भन्नेबारे विस्तृत विवरण अनुसन्धानपछि मात्रै थाहा हुनेछ।”

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖