• Friday 9th of October 2026

जेनजीको नाममा धम्की दिने शाही पक्राउ


  • धनकुटा खबर
  • .

आफूलाई ‘जेनजी अभियन्ता’ भन्दै सरकारी कार्यालयका कर्मचारीलाई धम्क्याउने अर्जुनबहादुर शाही पक्राउ परेका छन्। शाहीलाई काठमाडौंको कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन्।

प्रहरीका अनुसार शाही विभिन्न सरकारी कार्यालय पुगेर अधिकारी र कर्मचारीलाई धम्की दिने गर्दै आएका थिए। उनले आफू जेनजी आन्दोलनसँग सम्बद्ध भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमलगायतका संस्थामा पुगेर प्रमुखहरूलाई धम्क्याउँदै राजीनामा माग गरेका भिडियोहरू समेत सार्वजनिक भएका थिए।

शाही पहिले पनि ठगी र बैंकिङ कसुरका मुद्दामा संलग्न रहेको प्रहरीले जनाएको छ। अछामका २६ वर्षीय शाहीमाथि युवायुवतीलाई जापान पठाउने नाममा ठगी गरेको र विभिन्न व्यक्तिबाट रकम लिएर चेक बाउन्स गराएको अभियोग छ। उनले गत वर्ष इलाम–२ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए।

धरौटीमा छुटेका शाही पछिल्लो समय फेरि धम्कीपूर्ण शैलीमा सार्वजनिक कार्यालयहरूमा पुग्ने र आफूलाई ‘जेनजी’का रूपमा चिनाउँदै आएका थिए। हाल उनलाई पुनः पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖