नयाँ दिल्ली । अरूले हामीलाई कत्तिको माया गर्छन् वा वास्ता गर्छन् भनेर जान्ने इच्छा हामीमध्ये धेरैको मनमा हुन्छ ।
यो कुरा जाँच्न तपाई पनि कहिले काहीँ केही उपाय अपनाउनु भएको पनि होला । भारतमा भने एक जना ७४ वर्षका वृद्धले आफू मरेपछि अन्त्येष्टिमा को –को आउलान् भनेर हेर्नका लागि आफ्नै मृत्युको नाटक गरेका छन् । यसका लागि उनले आफ्नो नक्कली अन्त्येष्टिको समेत आयोजना गरे ।
यो घटना भारतको बिहार राज्यको कोन्ची गाउँको हो । ७४ वर्षीय स्थानीय पूर्व वायुसेनाका भेटेरान मोहन लालको अचानक निधनको बारेमा सुनेर मानिसहरू छक्क परे । मरेको हो कि होइन भन्ने कुरा थाहै नपाईकन धेरै मानिसहरू हेर्न पनि गए । रुवाबासी चल्यो । अन्त्येष्टिमा मान्छेको भीड लागिरहेकै समयमा अचम्मको घटना भयो । मरेको भनिएका मान्छे बाकसबाट जुरुक्क उठे ।
‘मृत्यु पछि, मानिसहरूले अर्थी बोक्छन्, तर यसको साक्षी हुन र मानिसहरूले मलाई कति सम्मान र स्नेह दिन्छन् भनेर म आफैँ जान्न चाहन्थे,’ मोहनले भने । मोहनले आफ्नो मृत्युबारे प्रचार गर्न आफ्ना केही आफन्तहरूलाई आग्रह गरे ।
स्टन्टलाई विश्वासयोग्य बनाउन अरू मानिसहरूलाई सजाइएको शवदाह गृहमा लगे । सयौँ स्थानीय बासिन्दाहरू शोक समारोहमा सामेल हुन हतारिए, जसले मोहनलाई खुसी बनायो । स्थानीयहरूले नक्कली अन्त्येष्टि आयोजना गरेकोमा आफूलाई माफी दिउन् भनेर मोहन लालले सबैको लागि ठुलो भोज आयोजना गरे।
