• Friday 9th of October 2026

गायक बाबुल गिरीविरुद्ध जाहेरी लिएर प्रहरी कार्यालय पुगे नितु पौडेलका दाइ


  • धनकुटा खबर
  • .

काठमाडौ । गायिका नितु पौडेलको मृत्यु भएपछि उनका दाइ गणेश पौडेल गायक बाबुल गिरीविरुद्ध जाहेरी लिएर प्रहरी कार्यालय पुगेका छन्।

गणेश पौडेल शुक्रबार बिहान जाहेरीसहित प्रहरी वृत्त सिंहदरबार पुगेका हुन्। उनले अनलाइनखबरसँग कुरा गर्दै भने, “म जाहेरी लिएर प्रहरी कार्यालयमा पुगेको छु। अब जाहेरी दर्ता गरेर गायक गिरीमाथि अनुसन्धान अघि बढाउनुपर्छ।”

गणेशले आफ्नी बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको मुद्दा दायर गर्न लागेको बताएका छन्। उनका अनुसार नितु र बाबुल गिरीबीच करिब ८–९ वर्षदेखि प्रेम सम्बन्ध थियो। उनले भने, “दुई जनामात्र भएको कोठाभित्र मेरी बहिनीलाई जलाइएको हो।”

गायिका नितु पौडेलको एक सातासम्मको उपचारपछि शुक्रबार बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो। अस्पतालका चिकित्सकले बिहान साढे ८ बजे उनको मृत्यु भएको घोषणा गरेका थिए।

गत कात्तिक १ गते, नितुले गायक बाबुल गिरीको अनामनगरस्थित स्टुडियोमा पेट्रोल छर्की आत्मदाहको प्रयास गरेकी थिइन्। त्यसपछि उनलाई उद्धार गरी अस्पताल लगिएको थियो।

प्रहरीका अनुसार यो घटना अझै अनुसन्धानको क्रममा छ। गायक गिरीले प्रारम्भिक बयानमा भनेका छन्, “नितुले आफैंमाथि आगो लगाउँदा म निभाउने प्रयासमा सामान्य घाइते भएको छु।”

हाल प्रहरी वृत्त सिंहदरबारले जाहेरी दर्ता गर्ने तयारी गर्दै घटनाको सबै पक्षबारे बयान संकलन गरिरहेको बताइएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖