• Friday 9th of October 2026

सुनको भाउमा १ सातामा ७ प्रतिशत गिरावट, लगानीकर्ताले ‘नाफा बुक’ गर्ने हतारो , अझै घट्न सक्ने !


  • धनकुटा खबर
  • .

अन्तर्राष्ट्रिय बजारमा पछिल्लो साताभित्र सुनको भाउमा उल्लेखनीय गिरावट आएको छ। अल्पकालीन लगानीकर्ताले नाफा ‘बुक’ गर्ने हतारो गर्दा मूल्यमा उच्च दरको गिरावट देखिएको हो।

अमेरिकी–चीन व्यापारिक खिचातानी र राजनीतिक वातावरणको प्रभावले सुनलाई सुरक्षित लगानीको रूपमा रोजाइमा राखे पनि पछिल्ला दिनमा मूल्य घट्न थाल्यो।

३० असोजमा सुनको भाउ प्रतिआउन्स ४,३८१ अमेरिकी डलरसम्म पुगेको थियो। तर, निरन्तर घट्दो क्रममा शुक्रवारसम्म ७.१६ प्रतिशतले घटेर ४,०६४ डलरमा कारोबार भइरहेको छ।

नेपालमा भने ३१ असोजमा तोलाको २ लाख ५८ हजार रुपैयाँ कायम भएपछि अहिले मूल्य २ लाख ५३ हजार पुगेको छ। अन्तर्राष्ट्रिय बजारको उतारचढाव नेपाली बजारमा प्रायः एक दिन ढिलासँग असर गर्छ।

सुनको मूल्य घट्नुमा लगानीकर्ताको नाफा बुक गर्ने प्रवृत्ति, अमेरिकी केन्द्रीय बैंकको नीतिगत असर र अमेरिका–चीन व्यापार सम्बन्धमा सकारात्मक संकेतहरू मुख्य कारण रहेका छन्।

दिपावली बिदाका कारण नेपालमा सुनको कारोबार बन्द रहँदा नयाँ मूल्य हालसम्म तोकिएको छैन। आगामी साता बजार खुल्दा अन्तर्राष्ट्रिय उतारचढावलाई समायोजन गरेर मूल्य कायम गरिनेछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖