अंकारा, टर्की – टर्कीको अदालतले एक पुरुषलाई आफ्नी पूर्वपत्नीको फोन नम्बर आफ्नो कन्ट्याक्ट लिस्टमा ‘मोटी’ भनेर सेभ गरेको कारण भौतिक तथा नैतिक दुवै प्रकारको क्षतिपूर्ति तिर्न आदेश दिएको छ।
सामान्यतया पति–पत्नीबीच उपनामको प्रयोग मायालु वा रमाइलो स्वरुपमा हुन्छ। तर टर्कीमा घटेको यो घटनाले देखायो कि कहिलेकाहीँ यस्ता उपनामले सम्बन्धमा समस्या पनि उत्पन्न गर्न सक्छन्।
श्रीमानले आफ्नी पत्नीको नम्बर फोनमा ‘टोमबेक’ (टर्की भाषामा ‘मोटो वा गोलमटोल’ को अर्थ) भनेर सेभ गरेका थिए। यो कुरा सम्बन्धविच्छेदको प्रक्रियामा महिलाले उजुरी दिएपछि अदालतको ध्यानमा आयो। उनले दाबी गरेकी थिइन् कि यो अपमानजनक उपनामले उनीहरूको वैवाहिक सम्बन्धमा हानि पुर्याएको छ।
उसाक शहरमा भएका सम्बन्धविच्छेद मुद्दामा कोर्ट अफ कसासन्सले पुरुषलाई दोषी ठहर गर्दै पूर्वपत्नीलाई आर्थिक क्षतिपूर्ति दिन आदेश दिएको छ। यस फैसलाले अब टर्कीमा कानुनी नजिर कायम गरेको छ र पति–पत्नीले फोनमा उपनाम राख्नुअघि सोच्नुपर्ने भएको छ।
यो असामान्य फैसला सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ठूलो बहस सुरु भएको छ। कतिपयले निर्णयको समर्थन गरेका छन् भने केहीले ‘मोटी’ उपनाम मायालु पनि हुन सक्ने बताए। एक व्यक्तिले भने, “मोटी हुनु नराम्रो होइन, यो प्यारो पनि सुनिन सक्छ।” अर्काले भने, “साना कुराहरूले पनि परिवारमा ठूलो विवाद उत्पन्न गर्न सक्छन्।”
