• Friday 9th of October 2026

अस्ट्रेलियाली महिला क्रिकेट खेलाडीमाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ


  • धनकुटा खबर
  • .

भारतको मध्य प्रदेशस्थित इन्दौर सहरमा अस्ट्रेलियाली महिला क्रिकेट खेलाडीमाथि दुर्व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। नियन्त्रणमा लिँदै गर्दा प्रहरीले बल प्रयोग गर्दा उनको खुट्टा भाँचिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घटना बिहीबार बिहान भएको हो। अस्ट्रेलियाली महिला क्रिकेट टोलीका दुई सदस्य होटलबाट नजिकै रहेको क्याफे जाँदै गर्दा मोटरसाइकलमा आएका युवकले पछ्याएर अनुचित रूपमा छोएर भागेका थिए।

सुरक्षाकर्मीको उजुरीका आधारमा इन्दौर प्रहरीले अनुसन्धान थालेको थियो। प्रहरीले सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीको विवरणका आधारमा आरोपीलाई पत्ता लगाएर शनिबार बिहान पक्राउ गरेको हो।

इन्दौरका प्रहरी अधिकारी राजेश डानडोटियाले बताएअनुसार,

“अस्ट्रेलियाली टोलीका सुरक्षाकर्मीहरूले उजुरी दर्ता गरेपछि तत्काल विशेष टोली खटाइयो। आरोपीलाई खोजीका क्रममा नियन्त्रणमा लिँदा भाग्ने प्रयास गरेकाले प्रहरीलाई बल प्रयोग गर्नुपर्‍यो। त्यस क्रममा उनको खुट्टा भाँचिएको छ।”

प्रहरीका अनुसार आरोपीमाथि भारतको नयाँ फौजदारी संहिताअन्तर्गत महिला विरुद्ध अशोभनीय व्यवहार र यौन दुर्व्यवहार सम्बन्धी धाराहरूमा मुद्दा दर्ता गरिएको छ।

घटनापछि खेलाडीहरूले तुरुन्तै टोलीका सुरक्षा अधिकृत डेनी सिमन्सलाई आपतकालीन सन्देश पठाएका थिए। सिमन्सले स्थानीय मिडियालाई बताए,

“हामीले तुरुन्तै गाडी पठायौं र दुवै खेलाडीलाई सुरक्षित रूपमा होटल ल्यायौं। उनीहरू अत्यन्त आत्तिएका थिए।”

भारतमा खेल भइरहेको आइसीसी महिला विश्वकप २०२५ अन्तर्गत अस्ट्रेलियाली टोली इन्दौरमा रहेको थियो।

क्रिकेट अस्ट्रेलियाले विज्ञप्ति जारी गर्दै भन्यो,

“अस्ट्रेलियाली महिला टोलीका दुई सदस्यमाथि दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेको छ। विषयबारे प्रहरीसँग हामी निरन्तर सम्पर्कमा छौं।”

भारतको क्रिकेट नियामक संस्था बीसीसीआईका महासचिव देवजित साइकियाले भने यो घटनाप्रति गम्भीर असन्तुष्टि जनाउँदै भने,

“भारत सधैं अतिथिप्रति सद्भाव र आदरका लागि चिनिन्छ। यस्तो घटना अस्वीकार्य छ। मध्य प्रदेश प्रहरीले तत्काल कारबाही गरेर जिम्मेवारलाई नियन्त्रणमा लिएकोमा धन्यवाद दिन चाहन्छौं।”

उनीका अनुसार बीसीसीआईले आगामी दिनमा विदेशी टोलीको सुरक्षाप्रोटोकल पुनरावलोकन गर्ने तयारी गरेको छ।

स्थानीय मिडियाका अनुसार, आरोपी हाल प्रहरी निगरानीमा उपचाररत छन् र घटना अनुसन्धान अन्तिम चरणमा पुगेको छ।
प्रहरीले भने, “कानून अनुसार कठोर कारबाही हुनेछ।”

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖