• Friday 9th of October 2026

जेनजी आन्दोलनको क्रममा प्रहरी सहायक हवल्दार अमृत गुरुङको हत्या गरेको आरोपमा एक क्रिकेट खेलाडी पक्राउ


  • धनकुटा खबर
  • .

जेनजी आन्दोलनको क्रममा प्रहरी सहायक हवल्दार अमृत गुरुङको हत्या गरेको आरोपमा एक क्रिकेट खेलाडी पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कैलालीका १९ वर्षीय अनुपम भण्डारीलाई कैलालीबाट पक्राउ गरी काठमाडौं ल्याएको हो।

भण्डारी केही महिनाअघि भारतको बैंगलोरमा गएर क्रिकेट ट्रेनिङ लिएर फर्केका थिए। काठमाडौंको एक क्रिकेट एकेडेमीमा सिकाइ लिइरहेका उनले २४ भदौको आन्दोलनमा सहभागी भएर प्रहरीमाथि आक्रमण गरेको खुलेको छ।

उनको बयानअनुसार, २३ भदौको आन्दोलनमा विद्यार्थीहरूलाई गोली हानेर मारिएको घटनाले उनलाई रिसाएको थियो। सोही आक्रोशमा २४ भदौको आन्दोलनका क्रममा कोटेश्वर प्रहरी प्रभाग नजिकै प्रहरीमाथि चक्कु प्रहार गरेको उनले स्वीकार गरेका छन्। प्रहरीमाथि हानेपछि आन्दोलनकारीको भीडले सहायक हवल्दार गुरुङलाई घिसार्दै हत्या गरेको खुलेको छ।

प्रहरीले भण्डारीलाई पक्राउ गर्दा घटनाका बेला लगाएको कपडा समेत बरामद गरेको छ। भिडियो फुटेज र प्रत्यक्षदर्शीका बयानका आधारमा अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरी उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

जेनजी आन्दोलनको क्रममा कोटेश्वर प्रहरी प्रभागमा भएको भीषण आक्रमणमा सहायक हवल्दार गुरुङको हत्या भएको थियो। ५९ दरबन्दीमध्ये १३ जना प्रहरी घाइते भएका थिए। आन्दोलनकारीले प्रभागमा आगजनी, तोडफोड र हतियार लुटपाट समेत गरेका थिए।

गुरुङको ९ महिनाअघि आमा निधन भएकी थिइन्। उनका ७ महिनाका छोरा, श्रीमती र वृद्ध बाबु कास्कीमा बस्दै आएका छन्। परिवारको मुख्य सहारा रहेका गुरुङको मृत्युसँगै परिवार पूर्ण रूपमा असहाय बनेको छ। जेनजी आन्दोलनमा ३ प्रहरीसहित ७६ जनाको ज्यान गएको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖