धनगढी । डोटीमा शिक्षक मृत फेला परेपछि प्रहरीले आत्महत्या दुरुत्साहनको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
मृतक पूर्वीचौकी गाउँपालिका–१ तल्लो फुलौटका २७ वर्षीया जानकी खड्का हुन्। उनी बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानुदय नमूना माध्यमिक विद्यालयमा गणित विषयकी स्थायी शिक्षकका रुपमा कार्यरत थिइन्।
घटनासँग सम्बन्धित भन्दै प्रहरीले शिक्षा तथा समन्वय इकाई डोटीमा कार्यरत विद्यालय निरीक्षक (विनी) पदमा कार्यरत २८ वर्षीय गणेश रावललाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेन्द्र पालका अनुसार मृतक पक्षको किटानी जाहेरीका आधारमा शिखर नगरपालिका–११ घर भएका रावललाई पक्राउ गरिएको हो।
सोमबार दिउँसो घरबाट सम्पर्कविहीन भएकी जानकी खड्का करिब ७ सय मिटर टाढा जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
प्रारम्भिक अनुसन्धानमा प्रहरीले खड्का र रावलबीच सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भई प्रेम सम्बन्ध रहेको बुझिएको जनाएको छ। प्रहरीका अनुसार रावलको मानसिक दबाब र भावनात्मक अत्याचारका कारण जानकीले आत्महत्या गर्न बाध्य भएकी हुन सक्ने देखिएको छ।
सुुसाइड नोट बरामद, के लेखिएको थियो ?
जानकी खड्काको कोठामा मोबाइलको कभर पछाडि लेखिएको सुसाइड नोट फेला परेको प्रहरीले जनाएको छ।
त्यो नोटमा उनले आफूलाई मानसिक रूपमा फसाएको र सामाजिक इज्जतका कारण यस्तो निर्णय लिन बाध्य भएको उल्लेख गरेकी छन्।
“अहिलेसम्म ड्याडी मम्मीको इज्जत सम्झेर बसेकी म आज जिन्दगीले अनौठो मोडमा ल्याइदियो। गणेश रावलले आफैं फ्रेन्ड रिक्वेस्ट पठाएको हो, न मैले देखेकी छु, न भेटेकी छु — सबै उसका नाटक हुन् मलाई फसाउने।”
उनले आफ्नो परिवारलाई सम्बोधन गर्दै लेखेकी छन्, “मेरो आयु यति रहेछ। बाबाआमाको इज्जत गुमाएर, तिमीहरुलाई नराम्रो संस्कार सिकाएर कसैको श्रीमान र बुवा भइसकेको मान्छेसँग जीवन जीउन सक्दिन।”
जानकीले सुसाइड नोटमा भाइलाई बिरामी आमाबुवाको राम्रोसँग हेरचाह गर्न, खराब संस्कारबाट टाढा रहन र आफ्नै सपना पूरा गर्न आग्रह गरेकी छन्। उनले बैंकिङ तथा अन्य आर्थिक विवरणसमेत उल्लेख गरी परिवारलाई व्यवस्थापन गर्न सहज बनाइदिएकी थिइन्। मृतकका भाइ प्रदीप खड्काका अनुसार परिवारको मुख्य भर दिदीमै थियो।
“हामी मध्यम वर्गीय परिवार हौं। बुबा रक्तचाप र आमा माइग्रेनका बिरामी हुनुहुन्छ। दिदी नै हाम्रो घरको खम्बा हुनुहुन्थ्यो,” प्रदीपले भावुक हुँदै भने, “दोषीले सजाय पाउनु नै दिदीको आत्माको न्याय हुनेछ।” परिवारका अनुसार रावलले जानकीसँग विवाह गर्ने दबाब दिँदै नमान्दा ज्यान मार्ने धम्कीसमेत दिएका थिए।
उनले यसअघि नै विवाह गरी सन्तान समेत भएका बेला पत्नीबाट सम्बन्ध विच्छेद गरेका थिए। प्रहरीका प्रवक्ता डीएसपी पालका अनुसार रावलले पहिले विवाह गरेको तथ्य खुलेको छ र घटनाको थप अनुसन्धान भइरहेको छ।-प्रेसपत्र
