• Friday 9th of October 2026

मधेस प्रदेश सभा सदस्य किरण कुमारी साहमाथि सासू–ससुरालाई घरबाट निकालेको आरोप


  • धनकुटा खबर
  • .

जनकपुरधाम । मधेस प्रदेश सभा सदस्य किरण कुमारी साह पारिवारिक विवादमा तानिएकी छन् । उनीमाथि आफ्ना सासू–ससुरालाई घरबाट निकालेर घरजग्गा कब्जा गरेको आरोप लागेको छ ।

सप्तरीको राजविराजस्थित सिराहा रोडमा बस्दै आएका उनका ८० वर्षीय ससुरा देवनारायण प्रसाद साह र सासू शान्तिदेवीले सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै बुहारी किरण साह र छोरा इन्जिनियर विनोद साहमाथि शारीरिक र मानसिक दुर्व्यवहारको आरोप लगाएका छन् ।

देवनारायण साहले भिडियोमा भनेका छन्, ‘मैले आफ्नो जीवनको सम्पूर्ण मेहनत लगानी गरेर यो घर बनाएको हुँ, तर अहिले बुहारी किरण र छोरा विनोदले मलाई घरबाट निकालिदिए ।’

देवनारायणका अनुसार असोज २० गते मन्दिर गएको बेला घरको दराज फोडेर नागरिकता, जग्गा र घरसम्बन्धी कागजात चोरी गरिएको थियो । सोधपुछ गर्दा उल्टै आफू र श्रीमतीलाई कुटपिट गरी घरबाट निकालिएको उनको दाबी छ ।

असोज २२ गते आफूले जिल्ला प्रशासन कार्यालय सप्तरीमा औपचारिक उजुरी दर्ता गराएको देवनारायणको भनाइ छ । कात्तिक २ गते पुनः आफूमाथि कुटपिट भएको आरोप पनि उनले छोरा–बुहारीमाथि लगाएका छन् ।

देवनारायणले बुहारी किरण कुमारी साहमाथि पदको दुरुपयोग गरी प्रहरी र प्रशासनमा प्रभाव जमाउने प्रयास गरेको आरोपसमेत लगाएका छन् । ‘मैले उनलाई पढाएर वकिल बनाएको हुँ, तर अहिले उनी मलाई सडकमा ल्याउने प्रयास गर्दै छिन्,’ उनले भिडियो सन्देशमा भनेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालकी समानुपातिक सांसद किरण कुमारी साहले आफूमाथि लगाइएका आरोप निराधार रहेको दाबी गरेकी छन् । आफूमाथि नियोजित रूपमा चरित्र हत्या गर्ने अभियान चलाइएको उनको भनाइ छ । उनका अनुसार साधारण पारिवारिक झगडालाई राजनीतिक रङ दिइएको हो ।

‘यो मेरो राजनीतिक छवि बिगार्ने उद्देश्यले रचिएको षड्यन्त्र हो,’ प्रदेश सभा सदस्यसमेत रहेकी किरण कुमारी साहले भनिन्, ‘चाडपर्वको तयारीका क्रममा ससुरा र श्रीमानबिच सामान्य विवाद भएको थियो, तर त्यसलाई अनावश्यक रूपमा ठुलो बनाइएको छ ।’

सांसद साहले आफ्नी नन्द माधुरी साह जनमत पार्टीसँग आबद्ध नेतृ रहेको र यही राजनीतिक प्रतिस्पर्धाले पारिवारिक विवादलाई सार्वजनिक रूपमा तानिएको उनको आरोप छ । आफ्नो सासू–ससुरालाई नन्द माधुरीले उक्साइरहेको आरोप पनि उनले लगाइन् ।

रातोपाटीसँग कुरा गर्दै किरण कुमारीले ससुरा–सासूलाई आफूले घरबाट ननिकालेकी दाबी गरिन् । बरु उनीहरू आफैँ छोरीको घरमा गएको उनको जिकिर छ । ‘हामीले बारम्बार घर फर्किन आग्रह गरेका छौँ, तर उहाँहरू आउनुभएको छैन,’ उनले भनिन् ।

कुटपिटसम्बन्धी आरोप खण्डन गर्दै किरण कुमारीले भनिन्, ‘मेरो श्रीमानले हातपात गरेको होइन, बरु ससुराले मेरो श्रीमानलाई हातपात गर्न खोज्दा मैले बचाउ गरेकी हुँँ ।’

जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार देवनारायण साहको उजुरी दर्ता भइसकेको छ । प्रहरी प्रशासनले दुवै पक्षलाई छलफलका लागि बोलाउने तयारी गरिरहेको छ । ‘विषय पारिवारिक विवादसँग सम्बन्धित देखिन्छ, तर एक पक्ष जनप्रतिनिधि भएकाले निष्पक्ष अनुसन्धान गरिनेछ,’ प्रहरी स्रोतले भन्यो ।

जसपा र जनमत पार्टीबिचको पुरानो प्रतिद्वन्द्विता यस घटनामा पनि परिलक्षित भएको भन्दै कतिपयले यो विवाद पारिवारिक मात्र नभई राजनीतिक प्रभावयुक्त भएको तर्क गरेका छन् ।

प्रदेश सभा सदस्य किरण साह मधेस राजनीतिमा सक्रिय महिला नेतृ हुन् । हालको विवादले उनको राजनीतिक छविमा असर पार्ने देखिएको छ । जसपाका प्रदेश नेताहरू भने यो विषयलाई व्यक्तिगत जीवनसँग सम्बन्धित बताउँदै संगठनले आधिकारिक टिप्पणी नगर्ने बताउँछन् ।

यसैबिच, स्थानीय प्रशासनले दुवै पक्षलाई वार्तामार्फत विवाद सुल्झाउन प्रयास गर्दैछ । यद्यपि, घटनाको स्वरूप र सार्वजनिक अभिव्यक्तिहरूका कारण यो विवाद चाँडै शान्त हुने सम्भावना देखिँदैन ।-ratopati

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖