• Friday 9th of October 2026

आमाको जन्मदिन भएको टिकट छाने, २४० करोड भारुको लट्री जिते


  • धनकुटा खबर
  • .

अबुधाबी । अबुधाबीमा बस्दै आएका एक २९ वर्षीय भारतीय युवकले युएई लट्रीको २४० करोड भारतीय रुपैयाँभन्दा बढीको लट्री जितेका छन्। अनिलकुमार बोल्लाले अक्टोबर १८ मा भएको २३औँ ‘लक्की डे ड्र’मा यो ठुलो पुरस्कार जितेका हुन्।

युएई लट्रीले विजेताको अन्तर्वार्ता एक्समा सेयर गरेको छ। सो भिडियोको नोटमा लेखिएको छ- ‘अपेक्षादेखि उत्सवसम्म, यो त्यस्तो खुलासा हो जसले सबै कुरा परिवर्तन गर्‍यो ! अनिलकुमार बोल्लाले एईडी १०० मिलियन आफ्नो पोल्टोमा पारे ! हामीले कहिल्यै नबिर्सने लक्की डे। अनिलकुमारका लागि, अक्टोबर १८ सामान्य दिन थिएनस यो त्यो दिन थियो जसले सबै कुरा बदल्यो। जीवन रूपान्तरण भयो, र कल्पना गर्ने आँट गर्दा के हुन्छ भन्ने कुराको सम्झना गरायो। बधाई छ, अनिलकुमार !’

भिडियो क्लिपमा अनिलकुमार आफ्नो लट्री जितको खुसी मनाउँदै गरेको देखिन्छन्। उनलाई औपचारिक चेक हस्तान्तरण गरिएको थियो। उनले आफ्नो ‘भाग्यशाली टिकट’ छनोट गर्नु पछाडिको कथा र खबर थाहा पाउँदाको आफ्नो प्रतिक्रिया पनि साझा गरेका छन्। उनले भने, ‘मैले कुनै जादु वा त्यस्तै केही गरेको थिइनँ, त्यसैले मैले केवल ‘इजी पिक’ छनोट गरेँ….अन्तिम नम्बर धेरै विशेष छ। यो मेरी आमाको जन्मदिन हो।’

आफूले जितको खबर थाहा पाएको क्षणबारे कुरा गर्दै अनिलकुमारले थपे, ‘म स्तब्ध थिएँ। म सोफामा बसिरहेको थिएँ, र मलाई महसुस भयो कि, हो, मैले जितेँ।’ उनले उक्त रकम जिम्मेवारीपूर्वक प्रयोग गर्ने योजना बनाएको बताए। ‘म केवल यो रकम कसरी लगानी गर्ने र यसलाई सही तरिकाले खर्च गर्ने भनेर सोचिरहेको थिएँ। अब, म केही ठुलो काम गर्न चाहन्छु,’ उनले भने।

उनले सुपरकार किन्न र विलासी रिसोर्ट वा सेभेनस्टार होटेलमा उत्सव मनाउन मन लागेको बताए। यद्यपि, उनको सबैभन्दा हृदयदेखिको इच्छा भनेको आफ्ना प्रियजनहरूसँग गुणस्तरीय समय बिताउनु हो। उनले भने, ‘म मेरो परिवारलाई युएई ल्याउन चाहन्छु, र उनीहरूसँगै रहेर मेरो सम्पूर्ण जीवनको आनन्द लिन चाहन्छु।’

२९ वर्षीय विजेताले जितेको रकमको केही हिस्सा दान गर्ने योजना पनि बनाएका छन्। अन्तमा, उनले युएई लट्रीलाई ‘धेरै ठुलो अवसर’ प्रदान गरेकोमा धन्यवाद दिए र आउँदा वर्षहरूमा पनि यसले अरूलाई खुसी ल्याइरहने आशा व्यक्त गरे।

यसअघि सेप्टेम्बरमा, दुबईमा बस्ने अर्का भारतीयले अबुधाबी बिग टिकट सिरिज २७८ ड्रमा १५ मिलियन युएई दिर्हामको ज्याकपट जितेका थिए। दुबई ड्राइडक्समा प्राविधिकको रूपमा कार्यरत ३० वर्षीय सन्दीप कुमार प्रसाद उत्तर प्रदेशका हुन् र उनी तीन वर्षदेखि युएईमा बस्दै आएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖