काठमाडौँ । काठमाडौँबाट ग्यास गनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलाली घर भई काठमाडौंको सहयोगी नगर बस्ने २१ वर्षीय मनोज ढुंगानालाई नियन्त्रणमा लिएको एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन्।
पक्राउको क्रममा प्रहरीले एउटा ग्यास गन, मोबाइल र भीड नियन्त्रणका लागि प्रयोग हुने लेगगार्ड बरामद गरेको छ। प्रहरीले भीड नियन्त्रणका लागि ग्यास गन प्रयोग गर्छ, जसबाट अश्रुग्यास प्रहार गर्न सकिन्छ।
पक्राउ विशेष सूचनाको आधारमा भएको हो र ढुंगानालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
भदौ २४ गते काठमाडौँ उपत्यका र देशभरिबाट करिब १२ सय भन्दा बढी हातहतियार लुटिएका थिए। त्यसमध्ये अधिकांश हतियार फिर्ता भइसकेको प्रहरीले जनाएको छ। यद्यपि, सुरक्षा निकाय र गृह मन्त्रालयले फिर्ता भएका हतियारको विस्तृत तथ्यांक सार्वजनिक गरेका छैनन्।
