नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहँदै फरार रहेका रौतहटका रन्जनकुमार खरेललाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का अनुसार खरेललाई गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिइ आज काठमाडौं जिल्ला अदालतमा पेस गरिएको हो।
खरेल मधेस प्रदेशको रौतहट जिल्ला, फतुवा हर्साह–९ का स्थायी बासिन्दा हुन्। उनी ठगी गिरोहसँग मिलेमतो गरी नगद र चेकमार्फत ठगी रकम जम्मा गर्ने, ओसारपसार गर्ने र गैरकानुनी रूपमा असुलिएको रकम लिने कार्यमा संलग्न रहेको सिआईबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार, खरेल ठगी, कीर्ते र संगठित अपराधमा संलग्न रहँदै लामो समयदेखि फरार थिए। प्रहरीले प्राविधिक र स्रोतको सहायतामा उनीमाथि निगरानी बढाउँदै खोजी थालेको थियो। अन्ततः उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला राजनीतिक व्यक्तिसमेत संलग्न रहेको आरोप लगिँदै आएको छ। यसअघि पनि यसै प्रकरणमा उच्चस्तरका नेता, कर्मचारी र दलालहरू पक्राउ परेका थिए।
प्रहरीका अनुसार खरेलमाथि प्राप्त तथ्य प्रमाणका आधारमा अदालतबाट म्याद लिई थप अनुसन्धान सुरु गरिएको छ। सिआईबीले भने यो प्रकरणमा बाँकी रहेका अन्य फरार व्यक्तिहरूलाई पनि छिट्टै पक्राउ गर्ने जनाएको छ।
