• Friday 9th of October 2026

सार्वजनिक बसमा पाकेट मार्ने र सिक्री लुट्न सक्रिय एउटा गिरोह


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँबाट काभ्रेको बनेपातर्फ जाने सार्वजनिक बसमा पाकेट मार्ने र सिक्री लुट्न सक्रिय एउटा गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । यो गिरोह भक्तपुर क्षेत्रमा सक्रिय थियो, लगातार लुटपाट मच्चाइरहेका उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले समाउन सफल भयो ।

पक्राउ परेका मध्ये एक कृष्ण बहादुर खड्का छन्, उमेरले ४२ वर्ष पुगेका उनी लुटपाटमा माहिर रहेका प्रहरीले जनाएको छ । मोरङ शनिश्चरे नगरपालिका–९ घर भएर भक्तपुरको सिपाडोल बस्ने खड्का यसअघि ३८ पटक पक्राउ परेको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)मा भेटिएको छ ।

कार चढेर हिँडने खड्कासहित आठ जनालाई कात्तिक २६ मा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । खड्का बा४च ३९१६ नम्बरको कार चढ्थे । ३९औँ पटक प्रहरीको कस्टडीमा पुगेका उनी लुट्न युवा परिचालन गर्ने गर्थे । उनले भक्तपुर आसपासमा सिक्री लुटपाट र पाकेटमारी धन्दा नै चलाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

खड्कासहित प्रक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी २३ वर्षीय अनु गजमेर, काभ्रे भुम्लुका १८ वर्षीय राजीव भण्डारी, २६ वर्षीय सुदीप भण्डारी, ३४ वर्षीय सुजन भण्डारी, २६ वर्षीय साधुराम भुजेल, काभ्रे महाभारतका २७ वर्षीय सुरज तामाङ र रोमछाप दोरम्बा गाउँपालिका घर भएका २२ वर्षीय विशाल तामाङ छन् ।

यीमध्ये मुख्य योजनाकार खड्काले कारमा बसेर सुनको सिक्री लगाउने र पैसा बोक्नेहरूको रेकी गर्थे । गिरोहका अन्य सदस्य पनि कार र मोटरसाइकलमा सँगै हुन्थे । अनि सुनका गहना लगाएका र पैसा बोकेकाहरूलाई पछ्याउँथे र लुट्थे । लुटपाट गर्न खोज्दा टार्गेटले प्रतिकार गरे उनीहरूले आक्रमणसमेत गर्ने गरेका अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

करिब १५ दिनअघि उनीहरूको समूह बनेपा जाने बसमा चढेर भक्तपुरको भातेढिकुर (जगातीबाट केही पर) पुगेका थिए । त्यहाँ महिलाहरूको समूह काठमाडौँतर्फ आउने गाडी कुरेको देखेपछि उनिहरू ओर्लिएर उनिहरूसँगै काठमाडौँतर्फ आउने बस चढे । बसमा चढेपछि धकेलाधकेलको अवस्था सिर्जना गरे, र एक महिलाको सिक्री लुटेर फरार भए ।

आरोपीहरूले बनेपा जाने बस चढेर भक्तपुरको राधेराधेमा पनि एउटा सिक्री लुटेको भेटिएको एसपी आचार्यले बताए । ‘दुईतोला र एकतोलाको सिक्री हामीले बरामद गरेका छौँ ।’ १२ दिनको अनुसन्धानपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको भक्तपुर शाखाका डीएसपी कृष्ण खड्का र इन्स्पेक्टर हेम थपलियाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूमाथि जिल्ला प्रहरी परिसर भक्तपुरको चोरी र लुटपाटसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖