काठमाडौं – नेपाली बजारमा सुनको मूल्य लगातार बढ्दै ऐतिहासिक स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शनिबार प्रतितोला सुन २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भयो, जुन एक वर्षअघि भन्दा १ लाख २ हजार ९ सय रुपैयाँ बढी हो।
विवाहको सिजन सुरु भएर पनि मूल्य आकासिँदा कारोबार सुस्त बनेको व्यवसायीहरूको भनाइ छ। पछिल्लो डेढ महिनामै सुन तोलामा करिब १० हजार रुपैयाँभन्दा बढीले महँगिएको छ।
महासंघका अध्यक्ष अर्जुन रसाइलीका अनुसार अमेरिकी बैंकिङ नीति र अन्तर्राष्ट्रिय बजारमा बढेको मागका कारण सुनको भाउ उकालो लागेको हो। लगानीकर्ताहरू सुरक्षित विकल्पका रूपमा सुनतर्फ आकर्षित भएकाले मूल्य तीन वर्षयता निरन्तर बढेको पूर्व अध्यक्ष माणिकरत्न शाक्यको टिप्पणी छ।
उच्च मूल्यका कारण दैनिक २५ किलो आयात भए पनि १५ किलो बेच्न पनि गाह्रो परेको व्यापारी बताउँछन्। खुले सिमानाबाट हुने अवैध सुन प्रवेशले आधिकारिक व्यापारमा थप दबाब परेको छ।
