काठमाडौं । भारतको उत्तर प्रदेशमा बसमा आगलागी हुँदा घाइते भएकामध्ये दुई जना नेपालीको मृत्यु भएको छ ।
“स्थानीय प्रशासनले दुई जना नेपालीको मृत्यु भएको हामीलाई जानकारी दिएको छ,” भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासका मिनिस्टर काउन्सिलर अम्बिका जोशीले बाह्रखरीलाई जानकारी दिए ।
सोमबार मध्य राति भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बसमा भीषण आगलागी भएको थियो । भारत–नेपाल सीमा सुनौलीबाट दिल्लीतर्फ जाँदै गरको यूपी२२एटी ०२४५ को निजी बसमा कुल ४५ यात्रु सवार थिए ।
बसमा यात्रा गर्ने अधिकांश यात्रुको ठेगानामा ‘बुटवल’ उल्लेख रहेको पाइएको छ ।
नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार आगलागीमा परी घाइते भएकामध्ये सात जना जति अस्पताल भर्ना भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।
सामान्य अवस्थामा रहेका २० जना फर्किसकेका जनाइएको छ ।
