• Thursday 8th of October 2026

ढाडमा ओलीको ट्याटु खोपेका कार्की बने महाधिबेशन प्रतिनिधि


  • धनकुटा खबर
  • .

सर्लाहीका उज्ज्वलकुमार कार्की, जो ढाडमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको ट्याटु खोपेर चर्चामा आएका थिए, पार्टीको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट भएका छन्। ट्याटुको कारण होइन, तर तीव्र आन्तरिक प्रतिस्पर्धा र लामो विवादपछि अन्ततः नेतृत्वबीच सहमति जुटेपछि उनी प्रतिनिधिमा चयन भएका हुन्।

सर्लाही–१ मा महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा कडा गुटगत प्रतिस्पर्धा थियो। कार्की पार्टीभित्र स्वाभाविक रूपमा बलियो मानिँदैनथे। तर क्षेत्र नं. २ बाट प्रतिनिधि बनेकी अधिवक्ता राधिका खतिवडाले कार्कीको पक्षमा दृढता साथ समर्थन गरेपछि समीकरण उनको पक्षमा बलियो बन्दै गयो।
छनोट प्रक्रियामा एक दिन पूरा विवादमै बितेपछि अन्तिम समयमा उनको नाममा सहमति बन्यो।

अनेरास्ववियुका जिल्ला अध्यक्षसमेत भइसकेका कार्की केपी ओलीका कट्टर समर्थक (‘अन्धभक्त’) मानिन्छन्। उनी भन्छन्,

“विद्यमान संकटको निकास र मुलुकको अग्रगामी हितका लागि आजको एमालेमा ओली नै निर्विकल्प नेता हुन्।”

कार्कीले २०७२ सालको भारतीय नाकाबन्दीका समयमा ओलीले देखाएको ‘राष्ट्रियता’को अडानबाट प्रभावित भएर उनको चित्र ढाडमा ट्याटु खोपेका थिए।

२०७४ को स्थानीय तह निर्वाचनमा उनले लालबन्दी नगरपालिका–८ का वडाध्यक्षका रूपमा जित हासिल गरेका थिए। एक कार्यकाल जनप्रतिनिधि भएर काम गरिएका कार्कीले दोस्रो कार्यकालमा भने पद दोहोर्याउने इच्छा देखाएनन्।

अब उनी महाधिवेशनमा सहभागी हुँदै एमालेभित्रको नीति निर्धारण, नेतृत्व चयन र भावी संगठनात्मक दिशामा प्रत्यक्ष योगदान गर्ने अवसर पाउनेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖