• Thursday 8th of October 2026

यि हुन् सुन किन्ने बहानामा चोरी गर्ने पूर्व शिक्षक


  • धनकुटा खबर
  • .

दाङको तुलसीपुर उपमहानगरपालिका–५ (क) लाइनस्थित विपी चोकमा रहेको राधे राधे दिनेश ज्वैलर्स मा सुन किन्ने बहानामा आएका एक व्यक्तिले पसलमै चोरी गरेको सुनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्यूठानको गौमुखी गाउँपालिका–७ नारीकोट चौताराका ४५ वर्षीय देवेन्द्र पुरी रहेका छन्, जो पूर्वशिक्षक (रिटायर्ड) हुन्।

के भयो घटना?
मंसिर ८ गते बेलुकी पुरीले पाँच लाख ३१ हजार बराबरका सुनका गरगहना खरिद गर्छन् र रकम चेकमार्फत तिर्ने भन्दै पसलधनीलाई चेक थमाइन्छ। पसलधनी चेक साट्न बैंक गएका बेला सोही अवसरलाई पुरीले दुरुपयोग गर्दै सोकेसभित्र राखिएको ८ आनाको तिलहरी (५४.७५० ग्राम) चोरी गरी फरार भएका थिए।

कालीगढलाई शंका नलागोस् भनेर पुरीले आफ्नो फोन नम्बरसमेत दिई आरामले पसल छाडेका थिए।

सीसीटीभीले खोलेको रहस्य
पसलधनीले चेक साटेर फर्किएपछि गरगहनाको हिसाब गर्ने क्रममा तिलहरी हराएको थाहा पाए। भोलिपल्ट सीसीटीभी फुटेज हेर्दा पुरीले नै चोरी गरेको प्रमाण भेटिएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दर्ता गराइयो।

प्यूठानबाट पक्राउ
उजुरीपछि दाङ र प्यूठान प्रहरीले समन्वय गरी आरोपी पुरीलाई मंसिर १५ गते प्यूठान नगरपालिका–८ बाग्दुलास्थित एक लजबाट पक्राउ गर्‍यो। होटलको कोठामा लुकिछिपी बस्दै गरेका पुरीको साथबाट चोरी गरिएको तिलहरी समेत बरामद गरिएको प्यूठान प्रहरीले जनाएको छ।

थुनामा राखेर अनुसन्धान जारी
पुरीलाई दाङको इलाका प्रहरी कार्यालय तुलसीपुर पठाइएको छ। अदालतमार्फत म्याद थपेर उनलाई थुनामा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विनोदराज खत्रीले जानकारी दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖