• Thursday 8th of October 2026

उच्च पदस्थलाई धम्की दिएको आरोपमा दुई जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । उच्च पदस्थ व्यक्तिलाई धम्की दिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रमा लिएको छ।

धम्की दिएका प्रकाश पाठक नाम गरेका व्यक्तिसँग कनेक्सन देखिएका तथा चिनजानका दुई व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

केही दिनअघि मिति उल्लेख नगरी दुई पृष्ठ लामो पत्र सार्वजनिक भएको थियो। उक्त पत्रमा शंकास्पद र गम्भीर विषय उल्लेख थिए। धम्कीसहितको पत्र सार्वजनिक भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयले मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिँदै सुरक्षा सतर्कता अपनाउन भनेको थियो।

‘एस्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ (ईएनजी) भनेर लेटरहेडमा लेखिएको पत्रमा ‘चेयरमेन’ भनेर प्रकाश पाठकको नाम उल्लेख थियो। उक्त पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, नेपाल आयल निगमका पूर्वप्रमुख गोपाल खड्का, अख्तियारकै पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्की, मेडिकल व्यवसायी दुर्गा प्रसाईं, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक, पूर्वआईजीपी ओमविक्रम राना, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी, पूर्वपरराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवा, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणको नाम उल्लेख गरेर धम्की दिइएको थियो।

प्रकाश पाठक नामक युवाले भिडियो सन्देश जारी गर्दै अख्तियार प्रमुख राईलाई १० दिनभित्र राजीनामा दिन धम्की दिएका थिए। प्रहरीले यस प्रकरणमा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖