श्रीमान्–श्रीमतीबीच झगडा हुँदा प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नो छोराको हत्या गरेको खुलेको छ । छोराको हत्या आरोपमा आइतबार (मंसिर २१) साँझ करिब ६ बजे उनलाई पक्राउ गरिएको छ ।
असई कार्की र उनकी श्रीमतीबीच चारमहिने छोराको उपचारका विषयमा झगडा भएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन भट्टराईले जानकारी दिए ।
“आइतबार ४ बजे छोराको उपचारको विषयमा श्रीमान्–श्रीमतीबीच झगडा भएको रहेछ । श्रीमतीमाथि कुटपिट गरी चारमहिने छोराको घाँटी रेटेर हत्या गरेको खुलेको छ,” एसपी भट्टराईले भने ।
असई कार्की त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए । उनकी श्रीमती पनि नेपाल प्रहरीकै जवान हुन् । कार्की परिवार सिनामंगलमा बस्दै आएको थियो ।
