• Thursday 8th of October 2026

क्वारेन्टाइन काण्ड, अवैध बसाइ र कोरियाबाट डिपोर्ट– अजय सोडारीको विगत फेरि चर्चामा


  • धनकुटा खबर
  • .

जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले हिजो भएको सरकार–जेनजी वार्तामा ‘घुसपैठ’ भएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै उनले सम्झौता पत्र च्यात्ने अजय सोडारी आन्दोलनको वास्तविक चरणमा नेपालमै नरहेको बताएका हुन्। गुरुङका अनुसार जेनजी आन्दोलन भदौ २३ मा तीव्र बन्दै गएको समयमा सोडारी दक्षिण कोरियामा डिटेन्सन सेन्टरमा थिए र आन्दोलन सुरु भएको करिब ४० दिनपछि मात्रै, अक्टोबर १८ मा नेपाल फर्किएका थिए।

गुरुङले भनेका छन्, आन्दोलनमा उपस्थित नै नभएको व्यक्तिले हिजोको वार्तामा सहमति च्यातेर अस्थिरता सिर्जना गर्नु जेनजी आन्दोलनमा घुसपैठ भएको प्रमाण हो। सोडारीले सम्झौता जेनजीको हितमा नभएको भन्दै कागज च्यात्दा वार्तास्थलमै केहीबेर तनाव उत्पन्न भएको थियो। गुरुङको अभिव्यक्तिले आन्दोलनभित्रकै शंका, अविश्वास र बाहिरी हस्तक्षेपको सम्भावनालाई थप बल दिएको छ।

यससँगै अजय सोडारीको विगत पनि सार्वजनिक ध्यानको केन्द्रमा आएको छ। सोडारी, जसलाई पूर्णबहादुर बुढा भनेर पनि चिनिन्छ, हालै मात्र दक्षिण कोरियाबाट कानुनी समस्याका कारण ‘डिपोर्ट’ गरिएको व्यक्ति हुन्। जेनजी आन्दोलन चलिरहँदा उनी कोरियाको डिटेन्सन सेन्टरमा बसेका थिए। नेपाल फिर्ता भएपछि उनले आफूलाई जेनजी आन्दोलनको अग्रपंक्तिको अभियन्ता जस्तै प्रस्तुत गरे पनि आन्दोलनसँग उनको वास्तविक सम्बन्ध कतै पनि नरहेको जेनजी अगुवाहरुको आरोप छ ।

उनको राजनीतिक यात्रा पनि विवादास्पद देखिन्छ—एमाले निकट विद्यार्थी राजनीतिबाट सुरुवात, पछि माओवादी प्रवेश, फेरि एमाले फर्किएको इतिहास रहेको बताइन्छ। कोभिड महामारीका समयमा कोरिया जाने नेपालीहरूलाई क्वारेन्टाइनका नाममा महँगो शुल्क असुलिएको विवादमा पनि उनको नाम जोडिएको थियो। वैध कागजात नवीकरण नहुँदा G–1 शरणार्थी भिसामा बसिरहेको अवस्थामा लाइसेन्स बिना गाडी चलाएको अभियोगमा पक्राउ परेपछि उनी कोरिया सरकारद्वारा देशनिकाला गरिएका थिए।

गुरुङको ताजा आरोप र सोडारीको विवादित पृष्ठभूमिले जेनजी आन्दोलनभित्र आन्तरिक विभाजन, बाहिरी प्रभाव र विश्वासको संकट बढेको संकेत दिएको विश्लेषकहरूको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖