• Thursday 8th of October 2026

दुर्घटनामा ६ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । रोल्पा, पाल्पा, बर्दिया र रौतहटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा शुक्रबार ६ जनाको मृत्यु भएको छ।

रोल्पामा अटो दुर्घटना: सुनिलस्मृति गाउँपालिका-३, रोहवाङस्थित सडकमा रा.१ ह ३३५८ नम्बरको अटो दुर्घटना हुँदा सोही गाउँपालिकाका ५४ वर्षीय रेग बहादुर बिष्टको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चालक बिष्टको उपचारका लागि सुलिचौरतर्फ लैजाने क्रममा बाटोमै निधन भएको हो।

पाल्पामा गाडी सडकबाट खस्यो: निस्दी गाउँपालिका-४, चिउरीबाँसस्थित सडकमा लु.१ ज ३९०८ नम्बरको गाडी सडकबाट करिब १,२०० मिटर तल खसेर दुर्घटना हुँदा गाडीमा सवार ३ जना महिलाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेहरूमा सोही गाउँपालिका-७ हुवासकी ३६ वर्षीया हेम कुमारी सारू, सोही गाउँपालिका-४ ठोक्सिङबासकी ४५ वर्षीया ओम कुमारी खाम्चा र हाल नाम, थर र वतन नखुलेकी एक महिला रहेका छन्। दुर्घटनामा घाइते भएका ८ जनामध्ये ५ जनाको नवलपरासी पूर्वस्थित अस्पतालमा उपचार भइरहेको छ भने ३ जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ। प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ।

बर्दियामा मोटरसाइकल पोलमा ठोक्कियो: बारबर्दिया नगरपालिका-९ स्थित सडकमा भे.३ प ४७५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ खैरेनीका २३ वर्षीय संजोग थारूको मृत्यु भएको छ। मोटरसाइकल अर्को बा.प्र ०२-०३० प ७७८८ नम्बरको मोटरसाइकलमा ठक्कर खाई अनियन्त्रित भएर सडक छेउको बिजुलीको पोलमा ठोक्किएको थियो। गम्भीर घाइते भएका थारूको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो। बा.प्र ०२-०३० प ७७८८ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रौतहटमा ट्रक–कार ठक्कर: रौतहटको चन्द्रपुर नगरपालिका-४ स्थित सडकमा बागमती प्रदेश ०३-००१ ख ११४८ नम्बरको ट्रक र बा.३ च ६१९३ नम्बरको कार एकआपसमा ठक्कर खाँदा कारमा सवार बारा निजगढ नगरपालिका-३ का ७९ वर्षीय भक्त बहादुर खत्रीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको सिभिल अस्पताल चन्द्रपुरमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका कार चालकसहित अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।

यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖