• Thursday 8th of October 2026

पत्नीको हत्या गरी प्रहरीमा उजुरी दिन पुगेपछि…


  • धनकुटा खबर
  • .

सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिकामा कुटपिटपश्चात् श्रीमतीको हत्या गरी शव गाडेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेमा मादी नगरपालिका–३ का ४९ वर्षीय प्रेम दोर्ची शेर्पा रहेका छन् ।

उनलाई शनिबार पक्राउ गरिएको हो । गत मंसिर ९ गते राति करिब १०ः३० बजेको समयमा आफ्नी श्रीमती ३७ वर्षीया मिना शेर्पा मादी नगरपालिका–४ ओखरबोटे बजारबाट घर फर्कने क्रममा बाटोबाटै बेपत्ता भएको भन्दै प्रेमले प्रहरी चौकी मादी मङ्गलबारेमा निवेदन दिएका थिए ।

प्रहरीले खोजतलास गर्ने क्रममा श्रीमान् प्रेममाथि नै शङ्का लागेर सोधपुछ गर्दा उनले आफैले हत्या गरेको स्वीकार गरेका हुन् ।

प्रेमले सो राति बजारबाट घर फर्कने क्रममा सामान्य विषयमा विवाद हुँदा बाटोमा नै कुटपिट गरी श्रीमतीको हत्या गरेको बताएका थिए। हत्यापछि सोही राति मादी नगरपालिका–३ स्थित आफ्नै अलैँची बारीमा शवलाई त्रिपालमा बेरेर खाडल खनी गाडेको उनले प्रहरीलाई बताएका थिए ।

उनको बयानपछि इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक पर्शुराम राईको कमान्डमा खटिएको अनुसन्धान टोलीले लासको उत्खनन गर्दा जमिनभित्र त्रिपालले बेरेको अवस्थामा महिलाको शव सडेगलेको अवस्थामा फेला पारेको थियो ।

प्रहरीले तत्काल प्रेमलाई पक्राउ गरी सङ्खुवासभा जिल्ला अदालत चैनपुरबाट आइतबार कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेको छ । यसबारे इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖