• Thursday 8th of October 2026

बालेन र हर्क मिल्नुपर्छ, म आफैँ गएर अनुरोध गर्न तयार छु : खड्का


  • धनकुटा खबर
  • .

अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन तयार रहेको बताएका छन्। मंगलबार नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

देशको वर्तमान अवस्था र पछिल्ला तीन महिनामा सरकारबाट देखिएको प्रगतिले आफू चिन्तित बनेको खड्काले बताए। उनले अन्यायका घटनाहरू बढ्दै गएको र विधि तथा पद्धतिको शासन कमजोर देखिन थालेको भन्दै एक जिम्मेवार नागरिकको हैसियतले आवाज उठाउन आफू नख्खु पुगेको स्पष्ट पारे।

रवि लामिछानेलाई भेट्नुको कारणबारे प्रष्ट पार्दै खड्काले भने, “नयाँ सरकार बनेपछि अब न्याय पाइन्छ कि भन्ने आशा थियो। तर तीन महिनाको गतिविधि हेर्दा किन काम भइरहेको छैन भन्ने प्रश्न उठेको छ। अघिल्लो सरकारले एक व्यक्तिमाथि कुदृष्टि राखेको हो कि भन्ने आम बुझाइ थियो, अहिले पनि अवस्था उस्तै देखिँदा नागरिकको मनमा शंका बढेको छ।”

रास्वपालाई जनताले आशा र भरोसाको शक्तिका रूपमा हेरेको उल्लेख गर्दै खड्काले वर्तमान घटनाक्रमले आफूलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको बताए। उनले नयाँ र वैकल्पिक भनिएका राजनीतिक शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिए।

“फरक–फरक विचारधारा बोकेका पुराना दलहरू त मिल्न सक्छन् भने उस्तै उद्देश्य बोकेका नयाँ शक्तिहरू किन मिल्न सक्दैनन् ? नयाँ पार्टीहरूले एक–अर्काको भोट काट्ने काम मात्र गर्नु हुँदैन,” उनले भने, “बालेन जी, हर्क जीलगायत नयाँ शक्तिहरू मिल्नुको विकल्प छैन। यदि उहाँहरूलाई मिल्न गाह्रो भएको हो भने म आफैँ गएर अनुरोध गर्न पनि तयार छु।”

कलाकारलाई ‘राष्ट्रको गहना’ भन्ने भनाइप्रति टिप्पणी गर्दै खड्काले देशको अवस्था नै बिग्रिएको बेला गहनाको अर्थ नहुने बताए। “गहना तब सुहाउँछ, जब अनुहार सफा र सुन्दर हुन्छ। देशको मुहार नै कुरुप भएको अवस्थामा हामी कलाकार गहना भएर कुनै अर्थ राख्दैनौं। देश सुध्रिएपछि मात्र कलाकारको भूमिकाको सार्थकता हुन्छ,” उनले भने।

राजनीतिमा प्रवेश गर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा खड्काले हाल आफ्नो ध्यान चलचित्र क्षेत्रमै रहेको बताए। तर भविष्यमा देशकै लागि आवश्यक परे निर्णय लिन पछि नहट्ने उनको भनाइ थियो। “म अहिले चलचित्र क्षेत्रमै रमाइरहेको छु र अझै केही वर्ष यहीँ योगदान दिन चाहन्छु। तर फिल्म मात्र होइन, देश नै जोगाउनुपर्ने अवस्था आयो भने म मात्र होइन, तपाईंहरू पनि अगाडि आउनुपर्छ,” उनले भने।

सक्षम युवाहरूले आफ्नो स्वार्थ र परिवारमा मात्र सीमित हुँदा देश कमजोर बन्दै गएको उनको टिप्पणी थियो। आफू कुनै चलचित्रको प्रचारका लागि नभई विधि, कानुन र न्याय स्थापित हुनुपर्छ भन्ने मान्यताका साथ लामिछानेलाई भेट्न आएको उनले दोहोर्‍याए।

“भोलि मैले नै गल्ती गरेँ भने मलाई फोन गरेर छुटाउने होइन, कानुनअनुसार सजाय हुनुपर्छ भन्ने विश्वास राख्छु,” खड्काले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖