एमाले महाधिवेशन चलिरहँदा भोजपुरका युवा नेता ध्रुवराज राई हर्क साम्पाङको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । टेम्केमैयुङ गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका राई अहिले एमाले कोशी प्रदेश कमिटी सदस्य थिए ।
धरानमा आयोजित सम्मान तथा अभिनन्दन कार्यक्रममा राईले आजदेखि एमाले त्यागेर हर्क साम्पाङको पार्टीमा लागेको औपचारिक घोषणा गरे ।
हर्क साम्पाङलाई पनि नेता मान्छौं ? भन्दै एमालेजनले आफूलाई सोधेको भन्दै राईले भने- हर्क साम्पाङलाई काँधमा जुरुक्क बोकेर हिँड्न म उपस्थित भएको छु । देशभक्त मान्छे हो । उहाँलाई काँधमा बोकेर जुरुक्कै हिँड्छु । केपी ओलीलाई नेता मान्दा हर्क साम्पाङलाई नेता मान्नु कुन ठूलो कुरो हो र ? नेपाली कम्युनिष्ट पार्टी भन्ने अहिले जोडिइरहेको टीमले पनि मलाई पद दिन्छु भनेर खुब सिकार गरिरहेको थियो । इमानदार मान्छेहरूलाई त सिकार गर्दो रहेछ ।
उनले थपे- तपाईँहरू कुर्सी र सत्ताका लागि राजादेखि, कांग्रेससम्म जोसँग पनि मिल्नुहुन्छ । कम्तीमा प्रतिपक्षमा भएर बस्दा ५ वर्ष सत्ता चलाउन दिऊँ, ५ वर्षपछि जनतासँग आफ्नो कुरा राख्न सकिन्छ भन्यो । चिया पसलमा गयो एमालेलाई गाली गरिरहेका जनता भेटिन्छन्, म एमालेको प्रदेश कमिटी नेता हो, पूर्वपालिका अध्यक्ष हो भन्न नसक्ने अवस्था भएपछि जनताले छाडेको पार्टीमा बस्नुभन्दा हर्क साम्पाङजस्तो इमानदार, मजदुर र श्रमजीवीहरूको पार्टीमा लागेको छु ।
अहिलेको एमाले नेतृत्वले जनता र कार्यकर्ताको भावना विपरीत काम गरेकाले पार्टी छाडेको ध्रुवराजले बताए ।-नेपाल प्रेस
