काठमाडौँ । चीनको चाङ्चुन शहरमा भएको अनौठो घटना अहिले सामाजिक सञ्जालमा चर्चा बनेको छ । एकजना व्यक्तिले होटलको सामान्य नियम उल्लङ्घन गर्दै २ वर्षसम्म लगातार एउटै कोठामा बस्ने अद्भुत निर्णय गरेका थिए । तर जब उनी चेक आउट भए, त्यति बेला कोठाको अवस्था देखेर होटलका कर्मचारीहरू स्तब्ध बने ।
होटलले विशेष रूपमा ई–स्पोर्ट्स खेलाडीका लागि उच्च प्रदर्शन गर्ने गेमिङ कम्प्युटर, तीव्र इन्टरनेट र गेमिङ चेयरसहितको प्राइभेट कोठा उपलब्ध गराउने गर्छ । उक्त व्यक्तिले यही सुविधा प्रयोग गर्दै २ वर्षसम्म कोठाबाट बाहिर ननिस्कने निर्णय गरेको अनुमान गरिएको छ । खाना र अन्य आवश्यक सामग्रीहरू पनि सिधै कोठामा अर्डर गरिन्थ्यो ।
कोठा सफा गर्न गएका कर्मचारीहरूले उपयोग भएको ट्वाइलेट पेपर, खानाका प्याकेट र अन्य फोहोर देखे, जसले कोठाको हरेक कुनालाई ढाकेको थियो । केही स्थानमा फोहोर तीन फिट उचाइसम्म जमिसकेको थियो भने गेमिङ चेयरहरू समेत पूर्ण रूपमा फोहोरमा पुरिएका थिए ।
होटलका कर्मचारीहरूले कोठा सफा गर्न तीन दिन समय लगाउनु परेको थियो । व्यवस्थापनका अनुसार कोठाको अवस्था यति खराब भएको छ कि पुनर्निर्माण नगरी यसलाई फेरि भाडामा दिन सम्भव छैन ।
होटलका अनुसार, उक्त व्यक्तिको अझै १० दिनभन्दा बढी भाडा बाँकी छ, जुन करिब तीनसय पाउन्ड बराबरको छ । तर अहिलेसम्म होटलले प्रहरीमा रिपोर्ट दर्ता गरेको छैन भने व्यक्तिको पहिचान पनि गोप्य राखेकाे छ ।
