काठमाडौं । पत्नीलाई विदेश पठाउन लिएको ऋण तिर्न नसकेपछि दुईजनाको श्रृंखलाबद्ध हत्या गर्ने दुई व्यक्ति पक्राउ परेका छन् ।
मंसिर २३ गते ललितपुरको महालक्ष्मी नगरपालिका-८ स्थित शेरेफाँटमा सिन्धुली गोलन्जोरका गाउँपालिका-३ का केशवराज हायुको हत्यापछि दोषी खोज्न हिँडेको प्रहरीले भोलिपल्टैको अर्को हत्याको घटनामा पनि अनुसन्धान गर्नुपरेको थियो ।
अन्ततः दुवैजनाको हत्या एकै समूहबाट भएको निष्कर्षमा प्रहरी पुगेको छ । मंसिर २४ मा भोजपुर अरुण गाउँपालिका-३ घर भएर ललितपुरको लुभु बस्दै आएका २१ वर्षीय पारुहाङ राई ललितपुरको लाकुरी भञ्ज्याङमा मृत भेटिएका थिए ।
‘हायु र राईको हत्या एकै व्यक्ति र एउटै कारणले भएको हो’, प्रहरीको अपराध अनुसन्धान कार्यालय, टेकुका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।
पत्नीलाई जापान पठाउनका लागि लिएको ऋण तिर्न नसक्दा हायुको हत्या भएको थियो । नाताले उनका बहिनी ज्वाइँ देवराज ढुंगेलले हायुको हत्या गरेका थिए । सिन्धुली, सुनकोशी गाउँपालिका-४ का २१ वर्षीय देवराज ढुंगेल हायुका बहिनी ज्वाइँ हुने । ढुंगेलले गाउँकै साथी २० वर्षीय जयराम अधिकारीसँग मिलेर हायु र राईको हत्या गरेका हुन् । दुबैसँग ढुंगेलले ऋण लिएका थिए ।
ललितपुरको लाकुरीभञ्ज्याङमा राईको शव फेला परेको थियो । हायुको शव भेटिएको शेरेफाँट र लाकुरी भञ्ज्याङ नजिकै पर्छ । अघिल्लो दिन हायुको हत्यामा सफलता मिलेपछि ऋण लिएका जतिलाई मार्नु नै उपयुक्त हुने ठानेर त्यस्तो कार्य गरेको पक्राउ परेका ढुंगेलले प्रहरीलाई बताएका छन् ।
हायुको शव पुस २ मा फेला परेको थियो । दुबैको हत्याका क्रममा धारिलो हतियारले टाउकोमा प्रहार गरिएको थियो ।
