भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लामा एक युवकले खरायोको मासु भन्दै गाउँलेलाई कुकुरको मासु बेचेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ । घटनापछि स्थानीय गाउँमा आक्रोश फैलिएको छ भने प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार गडहिया गाउँ निवासी मंगरु सहनी दैनिक रूपमा मदिरा सेवन गर्ने व्यक्ति हुन् । मदिराको लतका कारण उनी सधैं पैसाको अभावमा रहने गरेको बताइएको छ । यही पैसाको अभाव टार्न उनले आपराधिक जुक्ति अपनाएका हुन् ।
पैसाको जोहो गर्न मंगरुले गाउँकै एउटा कुकुरलाई सुटुक्क मारे र त्यसको मासु गाउँलेलाई खरायोको मासु भएको भन्दै बेच्न थाले । उनले प्रतिकिलो एक हजार भारतीय रुपैयाँका दरले मासु बिक्री गरेका थिए । उक्त रकमबाट उनले मदिरा सेवन गर्नुका साथै आफ्ना केही साथीहरूलाई समेत पार्टी दिएको खुलेको छ ।
तर, मदिराको नशा भोलिपल्ट उतरिसकेपछि मंगरुले आफैंले गरेको अपराध गाउँलेसमक्ष स्वीकार गरेका थिए । खरायोको मासु भन्दै आफूहरूलाई कुकुरको मासु खुवाइएको थाहा पाएपछि गाउँलेहरू आक्रोशित बने ।
गाउँलेहरूले नजिकैको झाडीमा कुकुरको काटिएको टाउको र खुट्टा फेला पारेपछि घटना झनै पुष्टि भएको थियो । त्यसपछि उनीहरूले मंगरु सहनीविरुद्ध प्रहरी कार्यालयमा औपचारिक उजुरी दिएका हुन् ।
प्रहरीले उजुरी प्राप्त भएपछि घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ । यस घटनाले गाउँमा ठूलो सनसनी मच्चाएको छ भने मदिराको लतले मानिसलाई कति अमानवीय कामतर्फ धकेल्न सक्छ भन्ने गम्भीर प्रश्न पनि उठाएको छ ।
