• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

पूर्वसशस्त्र प्रहरी जवान सहित तीन जना खैरो हेरोइन सहित पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । डाँका चोरी मुद्दामा सात वर्ष कैद सजाय भुक्तान गरेर छुटेका पूर्वसशस्त्र प्रहरी जवानसहित तीन जना खैरो हेरोइनसहित पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले बिहीबार काठमाडौं र भक्तपुरबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका–५ का ३७ वर्षीय युवराज भण्डारी, सप्तरीको राजविराज नगरपालिका–३ का ३३ वर्षीय कौशलकुमार राय र धनुषाको नगराइन नगरपालिका–५ का गोपाल साह रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट १३२ ग्राम ११० मिलिग्राम खैरो हेरोइन, दुई लाख ५० हजार रुपैयाँ नगद र एक थान डिजिटल तराजु बरामद भएको छ।

काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित शिव मन्दिर नजिकबाट सुरुमा भण्डारी पक्राउ परेका थिए। उनको डेरा कोठामा खानतलासी गर्दा ३५ ग्राम ४६० मिलिग्राम खैरो हेरोइन र नगद बरामद भएको थियो।

भण्डारी सशस्त्र प्रहरीका पूर्वजवान रहेको र उनीसँगको बयानका आधारमा गोपाल साह र कौशलकुमार रायलाई भक्तपुरबाट पक्राउ गरिएको ब्यूरोका एसपी दुर्गा रेग्मीले बताएका छन्। उनीहरूबाट थप ९६ ग्राम ६५० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖