• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

आठ वर्ष पहिले मृत्यु भइसकेका मालिकलाई अस्पतालमा कुरिरहेकी काली


  • धनकुटा खबर
  • .

तिथिमिति त यकीन छैन तैपनि महाभूकम्प गएको २०७२ वैशाख १२ पछिको एक अपराह्न हो। ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा एक जना बिरामी ल्याइए। बिरामीकै पछि पछि कुकुर पनि आयो।

बिरामीलाई क्याबिन ‘सी-१८’ मा राखियो। क्याबिनको ढोकामै बस्यो कुकुर।

बिडम्बना, बिरामी निको भएर घर फर्किएनन्। उपचार गर्दागर्दै अस्पतालमै मृत्यु भयो। उनको शव लगेको कुकुरले देख्न पाएन।

आठ वर्ष बित्यो। कुकुर चाहिं घर फर्केन। अहिले पनि त्यही क्याबिन अगाडि पर्खेर बसिरहेको छ। “आफ्नो मालिकलाई पर्खिरा झैं क्याबिन वरपर नै हुन्छ। त्यहीं बसेको छ,” अल्का अस्पतालका प्रशासन प्रमुख भगवान केसी भन्छन, “आठ वर्षसम्म कुकुरलाई अन्यत्र गएको पाएकै छैनौं। दिनमा बाहिर हुन्छ, रातमा एक तलामाथि क्याबिनमा नै आएर बस्छ।”

अस्पतालमा मृत्यु भएका व्यक्तिका परिवारजनले कुकुरलाई घर फर्काउने प्रयास गरे पनि सफल भने भएनन्। पछि मृतकका परिवारका सदस्य पनि कुकुर लग्नलाई आउन छाडेको सरसफाइकर्मी बताउँछन्।

बलजफ्ती गर्दा पनि कुकुर डेग चल्दैन। “परिवारका सदस्य आउँदा भाग्ने, लुक्ने र कराउने गरेको छ,” अस्पतालको सरसफाइ विभागमा कार्यरत गोमा थापा भन्छिन्, “कुकुर लिन आएका व्यक्तिहरूसँग फर्कन नमानेपछि अस्पताल प्रशासनले नै आश्रय दिएको छ।”

आठ वर्षअघि बिरामीसँगै अस्पताल आउँदा सानै थियो। रौं पनि चिल्ला थिए। शुरूआतका केही दिन त क्याबिन अगाडि ढोकैमा बस्दा अस्पतालका कर्मचारीले धपाए पनि। बिस्तारै मान्छेको जस्तै सुत्ने र उठ्ने समय तालिका बन्यो। त्यसपछि धपाउन पनि छोडेको थापा बताउँछिन्।

उनका अनुसार राति १०-११ बजेतिर क्याबिनअघि आइपुग्छ। राति त्यहीं सुत्छ। बिहान ६-७ बजेतिर क्याबिन रहेको माथिल्लो तलाबाट भुइँतलामा झर्छ।

कात्तिक १७ गते राति ११ बजे अल्का अस्पताल पुग्दा क्याबिन नजिकै सुतिरहेको थियो। अर्को दिन कात्तिक २४ गते बिहान ६ बजे अस्पताल पुग्दा पनि त्यहीं सुतिरहेको थियो। मान्छेको चहलपहल हुन थालेपछि केही मिनेटमा खुरुखुरु प्राङ्गणतिर ओर्लियो।

शुरूआतमा त यो कुकुरको व्यवहार देखेर अस्पतालका कर्मचारी चकित बनेका थिए। अब भने माया गर्न थालिसकेका छन्। कुकुरलाई पनि अस्पतालको सदस्य जस्तै व्यवहार गर्छन्। “यहीं बस्छ, यहीं खान्छ, यहीं सुत्छ। ‘जा’ भन्दा पनि मान्दैन,” थापा भन्छिन्, “सधै यहीं बस्ने भएकाले ‘काली’ नाम राखिदिएका छौं।”

आजभोलि त अस्पतालका कर्मचारीले ‘काली यता जा’, ‘काली उता जा’ भन्दा मान्ने गरेको छ।

आठ वर्ष भनेको सानो समय होइन। यो कुकुरका लागि भने समय त्यहीं अडिएको छ। बिरामी मालिकलाई क्याबिनमा लगेको दिन जस्तै छ। एकै ठाउँमा उही दिनचर्या चलिरहेको छ।

समयसँगै केही परिवर्तत भने पक्कै आएको छ। आठ वर्षअघिको जस्तो चिटिक्क र सफासुग्घर छैन। जीउभरि धुलोमाटो छ। शरीरका रौं फुस्रा भएका छन्। बुढ्यौलीले च्याप्दै गएको छ। तैपनि क्याबिनबाट मालिक फर्किने प्रतीक्षा सकिएको छैन, आँखा थाकेका छैनन्।

आज पनि अस्पतालको गेटमै हुन्छ। नयाँ मान्छे देख्दा यताउता हेर्छ, पुच्छर हल्लाउँछ। आफ्नो मालिक हो कि भनेर सुँघ्न पनि जान्छ। होइन रहेछ भन्ने थाहा पाएपछि उदास भएर लुरुक्क फर्किन्छ।

अस्पताल बाहिर टाढा भने जाँदैन। थापा भन्छिन्, “अस्पताललाई छोड्दै छोडदैन, फिटिक्कै। राति पनि। हामीलाई त अचम्मकै कुकुर लाग्छ।”

अस्पतालका प्रशासक केसी अन्य कुकुरभन्दा यसको स्वभाव फरक भएको सुनाउँछन्। सडकमा जाने, झगडा गर्ने, अस्पतालमा आएका मान्छेलाई टोक्ने तथा झम्टने कहिल्यै गरेन। यसरी कुनै पनि कुकुर शान्त भएर मालिकले अन्तिम पटक छाडेको ठाउँमा यत्तिका वर्षसम्म कुरिराख्नु भनेको मालिकले पनि असाध्यै माया गरेको हुनुपर्ने केसीको अनुमान छ।

महीनौंसम्म बसेको देखेपछि अस्पताल प्रशासनले पनि उपचारका क्रममा मृत्यु भएका व्यक्तिको विवरण खोज्ने कोशिश गरेको थियो। केही गरी ठेगाना पत्ता लगाउन नसकेको केसी बताउँछन्।

यतिका वर्षसम्म किन क्याबिन अगाडि कुरेर बसेको होला? पशु चिकित्सक डा. विशाल चौधरी एकै ठाउँमा बस्नुका विभिन्न कारण हुने बताउँछन्। डा. चौधरीका अनुसार कुकुरको दिमाग र स्वादको क्षमता मान्छेको भन्दा धेरै बढी हुन्छ। “मान्छेको दिमाग ‘इपिसोडिक’ हुन्छ। कुकुरको दिमाग ‘एशोसिएटिभ’ हुन्छ, त्यो भनेको कुनै ठाउँ र समयलाई जोडेर सम्झिरहने दिमाग हो,” उनी भन्छन्।

यसलाई बुझाउन डा. चौधरी उदाहरण दिन्छन्। जस्तो- कुनै एकै स्थानमा निरन्तर कसैले खाना दिएको छ भने कुकुरले त्यो ठाउँ र समय सम्झिरहेको हुन्छ। त्यही समय र स्थान सधैं पुगिरहेको हुन्छ। त्यसैले नियमित खाना दिने, सँगै हिंडाउने र औधी माया गर्ने मान्छेलाई बिर्सिंदैन।

अल्का अस्पतालमा रहेको कुकुरलाई पनि कुनै समय मालिकले उपचारका क्रममा आफूसँगै अस्पताल लगेको हुन सक्ने उनको अनुमान छ। “अन्य समयमा पनि मालिकले अस्पताल लग्ने गरेको हुन सक्छ। अस्पतालमा मृत्यु भएको थाहा भएन। त्यसैले कुकुरको दिमागमा ‘मेरो मालिक यहींबाट निस्किन्छ र घर लग्छ’ भन्ने परेकाले पर्खिएको हुन सक्छ,” डा. चौधरी भन्छन्।

यो कुकुरका लागि अस्पताल पनि आफू बस्ने घर जस्तै भइसकेको छ। अस्पतालका कर्मचारी त्यो घरका सदस्य जस्तै भइसकेका छन्। अस्पतालका कर्मचारीले भनेको खुरुखुरु मान्ने गरेको छ। “अब त ‘बाहिर जा’ भन्दा लुखुरलुखुर जान्छ। ‘आइजा’ भन्दा खुरुखुरु आउँछ, लुटुपुटु पर्छ,” १५ वर्षदेखि अस्पतालमा काम गर्दै आएकी थापा भन्छिन्।

कर्मचारी पनि नजिक भइसकेका छन्। माया गर्छन्। प्रशासन प्रमुख केसी कालीलाई जबरजस्ती अन्त कहीं नपठाउने बताउँछन्। “बलजफ्ती त कतै पठाउँदैनौ, संरक्षणका लागि कसैले चासो देखाएर उपचारमा सहयोग गर्छ भने स्वीकार्छौं,” उनी भन्छन्।

कति वर्षको भयो भन्ने कसैलाई थाहा छैन। क्याबिनमा मृत्यु भएको मालिकको परिवारका सदस्यसँग पनि सम्पर्क हुन सकेको छैन। बुढ्यौलीले च्याप्दै लगेका कारण पहिले जस्तो चल्ताफिर्ता छैन। उही ‘सी-१८’ क्याबिनको ढोका छेउमै सुतिराख्छ।

कुकुरको कुनै चिजसँग लगाव भएपछि त्योभन्दा पर केही पनि नदेख्ने डा. चौधरी बताउँछन्। त्यसैले यो कुकुरले पनि आठ वर्षदेखि एउटै अस्पताल र उही क्याबिनछेउमा प्रतीक्षा गरिरहेको उनको भनाइ छ। डा. चौधरी अड्कल लगाउँछन्, “अब बाँकी जीवन पनि त्यही क्याबिन नजिक बसिराख्छ होला।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖