• Saturday 17th of October 2026

प्रसूति गृहबाट बच्चा चोर्ने महिलालाई के हुन्छ कानुनी कारबाही ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । शुक्रबार दिउँसो काठमाडौँको थापाथलीस्थित प्रसूति गृहबाट शिशु चोरी गर्ने महिलालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

शुक्रबार दिउसो थापाथलीबाट बच्चा चोरी गर्ने दैलेखकी मनकुमारी सिंह राती ११ बजे काठमाडौँको काँडाघारीबाट पक्राउ परेकी थिइन । चोरी भएका शिशुको उद्धार गरी प्रहरीले अभिभावकलाई बुझाइएको छ । सिंहले काभ्रेको चौरीदेउराली घर भएकी २२ बर्सिया सविना श्रेष्ठकी २६ दिनकी छोरी चोरी गरेकी हुन् ।

Laxmi sunrise bank
जिल्ला प्रहरी परिसर काठमाडौँले शिशु चोरी गर्ने सिंह, उनकी दिदी र श्रीमानलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सिंहले गरेको अपराधको प्रकृति अपहरणसँग मिल्ने देखिन्छ । यदि उनीमाथि अपहरण सम्बन्धी कसुरमा मुद्दा चल्यो र दोषी ठहरेमा ३ देखि १० वर्षसम्मको कैद सजायको भागिदार हुनुपर्नेछ ।

मुलुकी अपराध संहिता २०७४ को दफा २११ को (क) मा कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई, छलकपट गरी वा डर त्रासमा पारी, जोर जुलुम गरी, हातहतियार देखाई वा नदेखाई वा झुक्यानमा पारी वा नशालु पदार्थ वा मादक पदार्थ सेवन गराई वा कुनै व्यक्ति यात्रा गरी रहेको सवारी साधन कुनै किसिमले कब्जा वा नियन्त्रणमा लिई वा त्यस उपर कुनै किसिमले नियन्त्रण गरी निजलाई कुनै ठाउँमा लगेमा वा जान बाध्य गराएमा अपहरण गरेको मानिने व्यवस्था छ ।

सो दफाको उपदफा (ख) मा कुनै व्यक्तिलाई निजको मन्जुरी विना वा बालबालिका वा शारीरिक अशक्तताको कारणले अरूको आश्रयमा बसेको वा मानसिक अस्वस्थताको कारणले होस ठेगानमा नरहेको व्यक्तिलाई निजको बाबु आमा वा संरक्षकको मन्जुरी विना वा झुक्यानमा पारी जवर्जस्ती कुनै ठाउँमा लगेमा पनि अपहरण गरेको मानिने व्यवस्था छ ।

सोही ऐनको दफा २१३ मा अपहरणको कसुरमा सजायको व्यवस्था गरिएको छ । जस अनुसार कसैले ज्यान लिने, कुटपिट गरी चोट पुर्‍याउने, जवर्जस्ती करणी वा अप्राकृतिक मैथुन गर्ने, मानिस बिक्री गर्ने वा दास बनाउने वा इच्छा विरुद्ध जवर्जस्ती काममा लगाउने, वेश्यावृत्तिमा लगाउने, यातना दिने, कुनै काम गर्न वा गराउन बाध्य गराउने, मुक्ति रकम लिने वा प्रचलित कानुन बमोजिम कसुर हुने अन्य कुनै काम गर्न लगाउने उद्देश्यले दफा २११ वा २१२ बमोजिमको काम गरे वा गराएको भए सात वर्षदेखि दश वर्षसम्म कैद र सत्तरी हजारदेखि एक लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖