• Saturday 17th of October 2026

यसरी चिन्न सकिन्छ नक्कली नोट


  • धनकुटा खबर
  • .

काठमाडौं । नक्कली नोटको कारोबार गर्नु गैरकानुनी हुन्छ । नक्कली नोट भेटिए जफत र कारोबारीलाई कारबाही गरिन्छ । यस्तो कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्दै आएको छ ।

नक्कली नोटको कारोबारीले त्यसलाई बजारसम्म पुर्‍याउने सम्भावना रहन्छ । सक्कली र नक्कली नोट छुट्ट्याउन सके त्यस्तो कार्यमा फस्ने सम्भावना कम हुन्छ ।

नेपाल प्रहरीले सक्कली र नक्कलीको नोटको पहिचानबारे जानकारीमूलक भिडियो सार्वजनिक गरेको छ । सक्कली र नक्कली नोट चिन्ने तरिकाबारे भिडियोमा जानकारी गराइएको छ ।

“…सामान्यतया दुई तरिकाले सजिलैसँग नक्कली र सक्कली नोट छुट्ट्याउन सकिन्छ । यदि, तपाईंहरूलाई पनि कुनै नोटमाथि शंका लागेमा सर्वप्रथम नोट चिल्लो छ वा खस्रो छ भन्ने यकिन गर्नुहोस् । याद राख्नुहोस्, सक्कली नोट जतिसुकै पुरानो भएता पनि खस्रो हुन्छ,” चेतनामूलक भिडियोमा भनिएको छ, “यदि, शंका लागेमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको हटलाइन नम्बर १०० मा तुरुन्त खबर गर्नुहोस् ।”

प्रहरीका अनुसार, सामान्यतया नक्कली र सक्कली नोट दुई तरिकाले चिन्न सकिन्छ । पहिलो तरिका हो, नोटलाई हेरेर ।

पानीछाप
हरेक नेपाली नोटमा पानीछाप हुन्छ । प्रकाश पारेर वा उज्यालोतर्फ फर्काएर हेर्दा सक्कली नोटको दायाँतर्फ रहेको खाली ठाउँमा वाटरमार्क वा पानीछाप देखिन्छ । त्यसमा लालीगुराँसको चित्र हुन्छ । नक्कली नोटमा यस्तो हुँदैन ।

एनआरबी
सक्कली नोटको दायाँतर्फको सेतो भागको बायाँतर्फको रंगीन आधा अक्षरलाई उज्यालोतर्फ फर्काएर हेर्दा स्पष्ट देखिन्छ । नक्कली नोटमा ती अक्षर स्पष्ट देखिँदैन ।

सुरक्षण धागो
सुरक्षण धागोमा एनआरबी र त्यसमा देखिने उल्टो प्रतिविम्ब क्रमैसँग लहर मिलाएर लेखिएको हुन्छ । उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाइटको माध्यमबाट त्यसमा प्रकाश प्रसारण हुँदा पूरै चौडाइ भागमा सुरक्षण धागो देखिन्छ । नक्कली नोटमा यस्तो देखिँदैन ।

“यसका साथै सक्कली नोटमा कारणवश पानी परेमा बिग्रने र नोटको रङ परिवर्तन हुने डर हुन्न भने नक्कली नोट पानीले भिजेमा तुरुन्तै नष्ट हुन्छ,” भिडियोमा भनिएको छ ।

नोट छुट्ट्याउने दोस्रो तरिका हो, छामेर ।
छाम्दा सक्कली नोट खस्रो हुन्छ । नक्कली नोट चिल्लो हुन्छ । सक्कली नोट नयाँ हुँदा औँलाले हान्दा आवाज कडा आउँछ । नक्कली नोटमा कुनै आवाज आउँदैन ।

सक्कली नोटमा लेखिएको अंकमा छाम्दा हल्का उठेको महसुस हुन्छ । नक्कली नोटमा लेखिएको अंकमा यस्तो हुँदैन । सक्कली नोटमा दृष्टिविहीनका निम्ति तीनवटा थोप्ला राखिएको हुन्छ । उक्त थोप्लालाई छाम्दा हल्का उठेको महसुस हुन्छ । नक्कली नोटमा यस्तो नहुने प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖