• Saturday 17th of October 2026

ओली विदेशीका सामु आँखा जुधाएर कुरा गर्ने नेपालकाे एक मात्र नेता : माधव ढुङ्गेल


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य एवं संगठन विभाग सचिव माधव ढुङ्गेलले एमाले अध्यक्ष केपी ओली जनतामा आशा जगाउने नेता भएको बताउनुभएको छ ।

नेकपा एमाले जिल्ला पार्टी स्कुल विभागले आइतबार मन्थलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै ढुङ्गेलले ओली देश र जनतामा आशा जगाउने नेता भएको बताउनुभयो । केपी ओली प्रधानमन्त्री हुँदा विदेश जाने सङ्ख्या घटेको र विदेश गएका पनि देशमै फर्किएर उत्पादनमा जोडिएका उहाँले उदाहरण दिनुभयो । ‘केपी ओली देश र जनतामा आशा जगाउने नेता हो’, उहाँले भन्नुभयो ।

विदेशीका सामु आँखा जुधाएर बोल्न सक्ने नेपालको एक मात्र प्रधानमन्त्री केपी ओली भएको उहाँले दाबी गर्नुभयो । अन्तर्राष्ट्रिय समुदायको ध्यान तान्न सक्ने र अन्तर्राष्ट्रिय मञ्चमा समेत जमेको नेपालको एक मात्र प्रधानमन्त्री केपी ओली भएको ढुङ्गेलले बताउनुभयो । ‘भारतले गरेको सीमा अतिक्रमणको विरुद्ध औलो ठड्याएर बोल्ने एक मात्र नेपालको प्रधानमन्त्री केपी ओली हो, भारतको नाकाबन्दीको प्रतिवाद गर्ने नेता केपी ओली हो, भारतीय प्रधानमन्त्रीलाई सोझै फोन गरेर यो त गलत भयो भनेर भन्न सक्ने प्रधानमन्त्री केपी ओली मात्रै हो’, उहाँले भन्नुभयो ।

उहाँले नेकपा एमाले भित्र पनि केही समस्या रहेको बताउँदै त्यसलाई चिरेर अघि बढ्नु पर्ने बताउनुभयो । जनताको बिचमा घुलमिल हुन नसक्ने नेता कार्यकर्ताले देश, जनता र पार्टीको हितमा काम गर्न नसक्ने उहाँले दाबी गर्नुभयो । जनताको सुख दुःखमा एमालेका नेता कार्यकर्ता जोडिनु पर्ने उहाँले बताउनुभयो ।

मार्क्सवाद भनेको समाजलाई परिवर्तन गर्ने विचार भएको बताउँदै ढुङ्गेलले कुरा सुन्न नसक्ने मान्छे संगठक हुन नसक्ने प्रष्ट पार्नुभयो । व्यक्ति कमिटीको मातहतमा, अल्पमत बहुमतको मातहतमा, तल्लो कमिटी माथिल्लो कमिटीको मातहतमा, केन्द्रीय कमिटी महाधिवेशनको मातहतमा र महाधिवेशन पार्टी सदस्यको मातहतमा हुने कुरा भुल्न नहुने उहाँले बताउनुभयो ।

पार्टी अप्ठेरोमा परेको बेला नेता कार्यकर्ताले काँध हाल्न सक्नु पर्नेमा ढुङ्गेलले जोड दिनुभयो । ‘पार्टीलाई परेको बेलामा काँध नहाल्ने कार्यकर्ता काम लाग्दैन’, उहाँले भन्नुभयो ।

कसैको सफलता र असफलता सार्वजनिक पदमा पुग्ने कुरासँग नजोडिने उहाँले बताउनुभयो । सार्वजनिक पदमा नपुग्नुभएको पुष्पलाल, गणेशमान जस्ता नेताहरू त्यसकोका उदाहरणको रूपमा ढुङ्गेलले पेस गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖