• Sunday 18th of October 2026

सुदन किराँतीमाथि हर्क साम्पाङको तारन्तार प्रहार, फर्काउन थाल्यो सचिवालयले पनि जवाफ


  • धनकुटा खबर
  • .

काठमाडौं,१६ फागुन । धरानमा विमानस्थल बन्न नस्ने नागरिक उड्डयन प्राधिकरणको निष्कर्ष सार्वजनिक भएलगत्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीविरुद्ध खनिन सुरु गरेका धरानका मेयर हर्क साम्पाङ अझै रोकिने छाँटकाँटमा छैनन् ।

मंगलबार दिउँसोबाट मन्त्री किराँतीविरुद्ध निरन्तर छुद्र शव्दमा स्टाटस लेख्दै आएका उनले आज पनि आधा दर्जन स्टाटस लेखिसकेका छन् । उनले मन्त्री जस्तो उच्च पदमा पुगेको मान्छेले पनि विमानस्थल बनाउन नसकेको भन्दै तथानाम गालीसहितका स्टाटस्को वर्षा लगाएका छन् ।

मेयर साम्पाङले धरानमा विमानस्थल बनाउनैपर्ने जिकिर गरेपछि मन्त्री किरातीको निर्देशनमा नागरिक उड्डयन प्राधिकरणले धरानमा टोली पठाई ‘विस्तृत सम्भाव्यता अध्ययन’ गरेको थियो। तर अध्ययनपछि प्राधिकरणले धरानमा विमानस्थल बनाउन सम्भव नरहेको निष्कर्ष निकालेको थियो। धरान क्षेत्रमा विमानस्थल बनाउँदा विद्यमान हवाई नीति, २०६३ विपरीत हुने प्राधिकरणको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

प्राधिकरणले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सडक यातायातको सहज उपलब्धता तथा त्यस क्षेत्रको भौगोलिक अवस्थितिले गर्दा ‘वान वे एप्रोच’ मात्र सम्भव हुँदा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नभएको तथा अन्य विविध प्राविधिक तथा अपरेसन कन्स्ट्रेन्ट्सका कारण गर्दा उक्त ठाउँमा विमानस्थल निर्माण गर्न सम्भव नरहेको प्राधिकरणको निष्कर्ष रहेको छ।’

प्राधिकरणको निर्णयलगत्तैबाट प्रतिक्रिया जनाउन सुरु गरेका उनले हालसम्म लेखेका स्टाटस यस्ता छन् ।

तेरो नियम संशोधन गरेर भए पनि विमान स्थल बनाउनेछौँ ! ज्यादा नखोक् ! संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे तेरो नियमावली ? थु…

कुलले धिक्कार्ने काम !

सुदन किराती मन्त्री नै हुन् कि पोचा लाउने कुचिकार ? खोइ त प्राधिकरणलाई तह लगाको ? कुलको बदनामी…

कुल र कुलाङ्घारमा क्या फरक होन्दा ?

गफ मात्रै गर्ने काम भुत्लो नगर्ने मन्त्रीले कुल कै बेइज्यत गर्छ कि ?

धरानलाई पछि पार्ने तेरो नियमावली मैले मान्दिनु पर्ने ? Toilet Paper हो त्यो !

केही गर्छ कि भनेको ताइ न तुईको गफ बाहेक अरु केही गरेन ! मन्त्री भए पछि मन्त्री जस्तो काम गरे पो Yes भन्नु ! राज्यको ढुकुटीको सत्यानाश मात्रै !

अब आउँदो दिनमा गाइभैंसी पालेर बस्नु ! मन्त्री बनेर पनि केही गर्न नसक्नेले फोहोर मैला टिपे जस्तो गरेर फोटो खिचाउनु बाहेक अर्थोक केही नगरेको देख्दा पो हैरान ! कुलको इज्यत राख्छ कि भनेको हुतिहारा परेछ ! जनताले सम्झिरहनु पर्छ है !

एउटा नाथे नियमावली संशोधन गर्न नसक्ने मन्त्रीले के गर्छ हौ ? भाषण मात्रै गर्दै बस्नु उहिल्यै बर्गर खाको ढिंडो खाको ! देश परिवर्तन गर्ने आँट हुनु पर्छ नि ! खोइ त आँट ? छि…

एउटा जाबो नियमावली बल्दल्न नसक्नेले भुत्रो गर्छ देशको परिवर्तन ! मालिकलाई रिझायो बस्यो !

मेयर साम्पाङले आक्रामक रुपमा स्टाटस लेखेपनि हालसम्म मन्त्री किराँतीले भने कुनै प्रतिक्रिया जनाएका छैनन् । तर उनका स्वकीय सचिव राजन समिपले जवाफ फर्काउन सुरु गरेका छन् ।

राजनले सामाजिक सञ्जालमा लेखेका छन् ‘हर्क भावना र काम गर्ने हुटहुटीको सम्मान गर्नै पर्छ । उहाँको निस्वार्थ समर्थकहरुलाई पुजीको रुपमा लिन सकिन्छ । तर प्रीय हर्कमनहरु आवेगमा संवेगगनात्मक मिठा साहित्य सृजना हुन्छन नै तथापि वैचारिक लगाम विहिन भावनाले ठुला दुर्घटना निम्त्याउन सक्छन । तसर्थ हर्क भावनाहरुलाई निराशाको उच्चतम विन्दु सम्म पुराउन मलजल नगर्दानै वातावरण अनुकुलनिय हुन्छ’ ।

स्वकीय सचिव समिपल आज दिउँसो पुन साम्पाङको स्टाटसबारे लामो जवाफ फर्काएका छन् । प्रीय हर्क साम्पाङ! भन्दै उनले लेखेका छन् ‘तपाईंले हिजो जति घुर्क्याउनु भो, दङ्गाउनु भो, उतानो परेर आलङ्गरी नै खेल्नु भो, छाँती पिट्नु भो, त्यतिबेला तपाईंको माग सम्बोधन गरेकै हो ! किनकि तपाईंको घुर्काईमा धराने जनताका निम्ति लाभका सुसुप्त आवाज थिए ! तर अहिले जे कुरामा बालहठ प्रस्तुत गरिरहनु भएको छ ! त्यो धराने जनताको निम्ति त के राज्यकै निम्ति हानिकारक छ । सम्पुर्ण हिसाबले अवैज्ञानिक ठहरिएको आयोजना सञ्चालन गर्नुभनेको त्यो राज्य दोहन मात्रै हैन राष्ट्रघात पनि हो । त्यतिमात्रै हैन हामी किरातीका सन्तानहरु प्रकृति पुजक र बैज्ञानिक दुबै हौं । मानव सृष्टिको चरणमा पुर्खाले जिवनयापनका निम्ति गरेका हरेक संघर्षरहरु यो युगसम्म आइपुग्दा ठुला-ठुला बैज्ञानिक आविस्कारकारुपमा स्थापित भैसकेकाछन । तसर्थ बैज्ञानिक पुर्खाहरुका सन्तान हामी पुस्ताले विज्ञान विरोधी कुरा गर्नु चै पुर्खा माथिको धोका हो । तपाइकै भाषामा भन्ने हो भने पुर्खाको बाटो न हिन्ने सन्तान त्यो भन्दा नालायक र कुलङ्घार कोही हुन सक्तैन । तसर्थ कुरा बुझौं ! कसैले पनि पुर्खालाई धोका न दिउ !’ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖