• Monday 19th of October 2026

सहकारी ठगी प्रकरणको छानबिन मुद्दामा कांग्रेसलाई एमालेको साथ, गृहमन्त्री रवि पनि डामिन सक्छन्


  • धनकुटा खबर
  • .

सहकारी ठगी प्रकरणमा कांग्रेसले निरन्तर संसदमा आवाज उठाइरहेका बेला सत्तारुढ एमालेले पनि साथ दिएको छ । कांग्रेसले सहकारी ठगी आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै आएको छ भने एमालेले त सहकारी ठगीका सम्बन्धमा छानबिन आयोग बनाउन प्रस्ताव गरेको छ ।

एमालेले गृहमन्त्री लामिछानेको नाम नलिए पनि छानबिन आयोग बनाउन प्रस्ताव गरेपछि सिंहदरबारमा त्रास फैलिएको छ ।

त्यसका लागि सुन तस्करी प्रकरण बुझ्न जरुरी छ । सुन तस्करी प्रकरणमा शक्तिशाली मान्छेलाई जोगाउन खोजिएको भन्दै एमालेको जोडबलमा सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन आयोग बनाएको थियो । त्यतिखेर एमाले प्रतिपक्षमा थियो भने कांग्रेस, माओवादी सरकारमा । त्यही आयोगको प्रतिवेदनका आधारमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्।

कांग्रेस महामन्त्री गगन थापाले पनि सुन तस्करीमा शक्तिशाली मानिस संलग्न भएकाले प्रहरीको नियमित अनुसन्धानबाट छानबिन सही टुंगोमा पुग्न सक्दैन भनेर एमालेले गरेको आशंका सही साबित भएको सोमबार संसदमा बताए। ‘शक्तिशाली नेताहरुलाई लुकाउने प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षको आशंका सही सावित भयो’ विशेष समयमा बोल्दै उनले भने, आयोगले प्रतिवेदन बुझाएको छ । भर्खरै हामीले समाचार सुन्यौं, कृष्णबहादुर महरा पक्राउ पर्नुभयो ।’

थापाले यो प्रकरणलाई गृहमन्त्री लामिछानेसँग पनि जोड्न खोजेका हुन्। उनीविरुद्ध कास्की प्रहरीमा सहकारी ठगीसम्बन्धी उजुरी परेका बेला गृहमन्त्री बनेका छन् । योसँगै अनुसन्धान रोकिएको छ ।

महामन्त्री थापाले सहकारी ठगीमा मुछिएका गृहमन्त्रीले अनुसन्धान गर्छ भनेर कसरी पत्याउने भन्दै प्रश्न गरे । ‘अनुसन्धान कसरी हुन्छ? अहिलेको प्रहरी प्रशासनले नियमित अनुसन्धान गर्ने हो भने कसरी पत्याउने? सहकारीमा फियर ढंगले अनुसन्धान होस् । कुनै एउटा पनि प्रमाण नाश नहोस् । अहिले प्रमाण प्रहरीसँगै छ। जो मुछिएको छ, उसैले अनुसन्धान हुन्छ भनेर कसरी पत्याउने?,’ उनले भने।

सूर्यदर्शन सहकारीको सदस्य नै नभएपनि गृहमन्त्री रवि लामिछानेले एक करोड रुपैयाँ गैरकानुनी रुपैयाँ लिएको आरोप छ।

थापाले अगाडि भने, ‘‘पोखराको सूर्यदर्शन सहकारी करिब १९ हजार मानिसको १ अर्ब ३५ करोडभन्दा बढी पैसा अपचलनमा परेको छ । पोखरा महानगरपालिकाले अध्ययन गर्‍यो । अध्ययनको ८९ पेजको रिपोर्ट निकाल्यो । रिपोर्टले भन्यो सय जना मानिसहरुले नक्कली खाता खोलेर करिब १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेका छन् । त्यो रिपोर्टको ७८ औँ पृष्ठमा के भन्छ भने यसरी नक्कली खाता खोल्ने मानिसहरु मध्येको एउटा नाम हो रवि लामिछाने । माननीय गृहमन्त्री रवि लामिछाने माननीय हुनुहुन्छ । भोलि प्रधानमन्त्री बन्नुहोला । शुभकामना छ, बन्न पनि सक्नुहुन्छ । अलग विषय हो । तर रवि लामिछानेले एक करोड रुपैयाँ लिनुभएको छ । सहकारीको सदस्य हुनुहुन्न । हाम्रो कानुनको दफा ५० ले भन्छ यो गैरकानुनी छ ।’

एमाले सांसद ऋषिकेश पोखरेलले सहकारीको रकम अपचलन भएको भनी उठेका विषयहरुको कारण खोजी गर्न सरकारले अधिकारसम्पन्न आयोग बनाएर अनुसन्धान गर्नुपर्ने बताए। ‘सहकारी आन्दोलनलाइ संरक्षण गर्न सरकारले तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाउन पर्छ र जिम्मेवारपूर्वक खोजी गर्नुपर्छ,’ संसदमा उनले भने, ‘म सरकारलाई आग्रह गर्न चाहन्छु(तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाऔं ।’

अहिले गृहमन्त्री लामिछाने पदमा पुगेकाले प्रहरीले स्वतन्त्र अनुसन्धान नगर्न सक्छ । तर, शक्तिशाली आयोग बनाएमा कृष्णबहादुर महरा भोग्नुपर्ने पनि हुनसक्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖