काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकका निर्देशक थानेश्वर आचार्यलाई बर्खास्त गरेको छ । राष्ट्र बैंकले एक महिला कर्मचारीमाथि पटक–पटक यौन दुरव्यवहार गरेको भन्दै आचार्यलाई जागीरबाट बर्खास्त गरेको हो ।
६ चैतदेखि लागु हुने गरी आचार्यलाई सेवाबाट हटाइएको राष्ट्र बैंक मानव संशाधन विभागले जनाएको छ । राष्ट्र बैंकका एक वरिष्ठ महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको भन्दै राष्ट्र बैंकले सेवाबाट नै हटाएको हो ।
आचार्यले गत २७ पुसमा केन्द्रीय बैंकका उच्च अधिकारीको ‘स्ट्रेस म्यानेजमेन्ट’ कार्यक्रममा ती कर्माचारीमाथि दुर्व्यवहार गरेका थिए । आचार्यले उनलाई दुर्व्यवहार गर्नुभन्दा अघि पनि पटक–पटक अनुशासनहीन कार्य गरेपछि कारबाहीमा परेका थिए ।
ती महिला कर्मचारीमाथि दुर्व्यवहार गरेपछि राष्ट्र बैंकले छानबिन समिति बनाएको थियो । छानबिन क्रममा दोषी देखिएका आचार्यलाई स्पष्टीकरण सोधिएको तर उनको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सेवाबाट हटइएको मानव संशाधन विभागले जनाएको छ ।
राष्ट्र बैंकको टक्सार शाखामा कार्यरत आचार्यमाथि कारबाही प्रक्रिया सुरु भएपछि जिम्मेवारीविहीन बनाइएको थियो । ती महिला कर्मचारीले दिएको उजुरीका आधारमा छानबिनपछि दोषी पाइएपछि उनलाई सेवाबाट हटाइएको मानव संशाधन विभागले जनाएको छ ।
