• Monday 19th of October 2026

जीबी राईलाई पक्राउ गर्नेबारे गृहमन्त्रीले यसो भने…


  • धनकुटा खबर
  • .

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका गीतेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गर्न पहल गरिरहेको बताएका छन् ।

मंगलवार संसद् बैठकबाट निस्किने क्रममा सञ्चारकर्मीले सोधेको ‘जीबी राई कहिले पक्राउ पर्छन् ?’ भन्ने प्रश्नको जवाफ दिँदै उनले काम भइरहेको दाबी गरेका हुन् ।

‘काम गर्दैछु, गरेपछि थाहा हुन्छ, भएपछि ब्रेकिङ गर्नुहोस्,’ उनले भने ।

पोखराको सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष राई र उनको समूहले सहकारीका बचतकर्ताको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गरेको उजुरी छ । राई भने फरार छन् ।

सो अवसरमा गृहमन्त्री लामिछानेले आफ्नो राजीनामा माग्ने प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूलाई चार वर्ष संसद् अवरुद्ध गर्न शुभकामना पनि दिएका छन् ।

कांग्रेसले चार वर्ष संसद् अवरोध गर्यो भने काम गरेर सरकार झनै सफल हुने भन्दै उनले व्यंग्य गरे ।

उनले यस्तै पूरक र ठाडो उजरीका आधारमा संसद् अवरुद्धको अभ्यास गर्ने हो भने यसमा अडिरहन कांग्रेसलाई अनुरोध गरेका हुन् ।

‘यस्तो अभ्यास सिकाउन खोज्ने हो भने यसमा अडिइरहनका लागि म कांग्रेसलाई अनुरोध गर्छु । म भन्छु कांग्रेसले चार वर्ष संसद् अवरुद्ध गरोस् । हाम्रो संयन्त्रले चार वर्ष काम गरोस्,’ उनले भने, ‘देशमा अनियमितता गर्ने र अनुसन्धानलाई प्रभावित गर्ने, अनुसन्धान गर्दागर्दैका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न मिल्दैन ।’

कांग्रेस दूधले नुहाएको पार्टी हो कि होइन भन्ने प्रश्नको जवाफले जनताले बुझेको पनि गृहमन्त्री लामिछानेले बताए ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी प्रकरणमा लामिछाने जोडिएको भन्दै पदबाट राजीनामा दिनुपर्ने र यसबारे छानबिन गर्न संसदीय समिति गठनको मागसमेत गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖