• Monday 19th of October 2026

बाबुराम र प्रचण्डको एउटै नियति


  • धनकुटा खबर
  • .

बाबुराम भट्टराईले २०७२ असोज ९ मा साधारण सदस्यसमेत नरहने गरी माओवादी केन्द्र छाडेका थिए । उनले त्यति बेला तत्कालीन प्रतिनिधिसभा सदस्यबाट समेत राजीनामा दिएका थिए । भट्टराईले अहिलेसम्म पनि राजनीतिको नयाँ गन्तव्य भने फेला पारेका छैनन् ।

यतिबेला राजनीतिमा कोही अस्थिर पात्र छ भने भट्टराई नै हुन् भन्ने देखिएको छ । भट्टराईले पार्टी छाडेपछि जुन नियति भोगिरहेका छन्, उनका पूर्वसहकर्मी प्रचण्डले पनि उही नियति भोगिरहेका छन् । फरक यति हो कि प्रचण्ड सत्ता र शक्तिको आडमै रमाउने स्वार्थ पूरा गर्न ठूला भनिएका दलको वरिपरि नै घुमिरहे ।

भट्टराई देशलाई कसरी आर्थिक समृद्धितर्फ लैजान सकिएला भन्नेतर्फ केन्द्रित भए र त्यस्तै विचार मिल्ने व्यक्तिहरूको खोजीमा भौंतारिइरहे । एक्लैले त्यो सपना पूरा गर्ने कुरा कल्पना बाहिरकै थियो । त्यसका लागि यसो गरे हुन्छ कि उसो गरे हुन्छ कि, यो दलसँग मिलेर हुन्छ कि ऊ दलसँग मिलेर हुन्छ कि भन्ने प्रयोगमै ८ वर्ष ६ महिना बिताए ।

प्रचण्डले पनि कहिले एमाले त कहिले कांग्रेससँग गठबन्धन गरिरहेका छन् । प्रचण्ड स्वयंले नै आफू बाचुन्जेल यस्तै भइरहने र गरिरहने घोषणासमेत गरिसकेका छन् । प्रचण्डलाई सत्ताबाहिर रहन बहुतै गाह्रो हुने गर्छ । उनी अरूलाई कसरी घुमाएर, जिल्याएर आफू सफल हुने भन्ने खेलमा लागिरहेको देखिन्छ । संविधानको रक्षार्थ, देश र नागरिकको हकहितका निम्ति आफू यस्तो कदम चाल्न बाध्य भएको भन्न पनि छुटाउँदैनन् ।

स्वभावैले अन्तर्मुखी रहेका भट्टराई भने सकेसम्म अग्रपंक्तिमा देखिन नरुचाउने नेताका रूपमा चिनिन्छन् । अन्य नेताभन्दा त्यागी र सादगी नेताका रूपमा समेत उनले आफ्नो पहिचान बनाएका छन् । माओवादीमा दोस्रो स्थानमा रहेर निरन्तर २५ वर्षसम्म प्रचण्डलाई अध्यक्ष स्विकारेका भट्टराईले कहिल्यै अध्यक्षमा दाबी गरेको सुनिएन ।

राजनीतिक जीवनको उत्तरार्द्धमा भए पनि दसवर्षे जनयुद्धका नेतृत्वकर्ता प्रचण्ड र योजनाकार बाबुरामको मिलन भएको हेर्ने चाहना धेरैलाई थियो । यी दुई नेताले नेतृत्व गरेको पार्टीका पछिल्ला गतिविधिले जनताको त्यो चाहना तत्कालका लागि पूरा हुने अवस्था देखिँदैन । राजनीतिमा सम्भावनाको ढोका भने सधैं खुलै रहन्छ ।

अहिले भट्टराईको साथबिनै प्रचण्डलाई सबथोक पुगेको छ तर आगामी निर्वाचनमा प्रचण्डलाई पुनः भट्टराईको आवश्यकता खड्किन सक्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖