काठमाडौं । नेकपा एमालेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमाणसहित उजुरी दर्ता भए राजीनामा दिनुपर्ने बताएको छ । तर अहिले नेपाली कांग्रेसले राजनीतिक पूर्वाग्रहका साथ राजीनामा मागेको उसले बताएको छ ।
आइतबार बसेको सचिवालय बैठकका निर्णयहरु सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘भोलि कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भयो भने छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्छ ।’
तर अहिलेसम्म गृहमन्त्री लामिछानेविरुद्ध त्यो स्तरको उजुरी वा मुद्दा दायर नभएको र कुनै नियामक निकायले उनलाई बयानका लागि नबोलाएको उनले बताए । सहकारीमा जम्मा गरेको रकम ठगी भएर धेरै सर्वसाधारण पीडित भएको भन्दै उपमहासचिव ज्ञवालीले यसको छानबिन हुने बताए ।
भर्खरै भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पीडितहरुसँग सम्झौता पनि गरेको भन्दै उनले भने, ‘मन्त्रालय र सरकारले आफ्नो ढंगले गर्दैछ । यसक्रममा जो कोही दोषी देखियो भने एमालेले ढाकछोप गर्दैन ।’
तर अहिले कांग्रेसले द्वैध भूमिका देखाएको उनको आरोप छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बदल्ने निर्णय गरेपछि कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेलाई प्रधानमन्त्री अफर गरेको भन्दै उनले भने, प्रधानमन्त्रीका लागि आफूले प्रस्तावित गरेको मान्छे गृहमन्त्रीका निम्ति अयोग्य हुन्छ भन्ने तर्क राजनीतिक प्रतिशोधबाहेक अरु हुन सक्दैन ।’
नेपाली कांग्रेसले भने गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगीका विषयमा उजुरी परेकाले उनले राजीनामा दिनुपर्ने बताउँदै आएको छ । त्यस्तै उनीविरुद्ध संसदीय छानबिन नभएसम्म सदनमा गृहमन्त्री बहिस्कार गर्ने कांग्रेसले घोषणा गरेको छ ।
