• Saturday 17th of October 2026

शनिबारसम्म राम्रोसँग आकाश नउघ्रिने, मौसमविद भन्छन्- अनौठो भयो


  • धनकुटा खबर
  • .

काठमाडौं । अझै दुई/तीन दिन देशैभर मौसम सफा हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पूर्वी नेपालका धेरैजसो भागमा पानी परे पनि पश्चिम नेपालमा बादल मात्र लाग्ने पूर्वानुमान छ ।

मौसमविद शान्ति कँडेलले भनिन्, ‘आगामी दुई-तीन दिनसम्म देशैभर नै मौसम सफा हुन देखिन्न ।’

अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । अरब सागरबाट जलवाष्पयुक्त हावा नेपालसम्म आइपुगेकाले बादल लाग्ने र पानी पर्ने क्रम जारी छ । अहिले पनि देशभर आंशिकदेखि साधारणतया बदली छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षासमेत भइरहेको छ ।

गएराति पनि काठमाडौं उपत्यकासहित गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा वर्षा भएको छ । गत २४ घण्टामा सबैभन्दा बढी वर्षा लमजुङको कुन्छा भन्ने ठाउँमा भएको छ । त्यहाँ ६१ मिलिमिटर वर्षा पन भएको मौसमविद कँडेलले जानकारी दिइन् ।

यसैगरी चितवनको त्रिशूलीमा ५३.६ मिलिमिटर र तनहुँको बन्दीपुरमा ५२ मिलिमिटर वर्षा मापन भएको छ ।

कोशी, बागमती र गण्डकीमा एक/दुई दिनदेखि नै वर्षाको गतिविधि बढिरहेको बताउँदै मौसमविद कँडेलले काठमाडौं उपत्यकामा आज राम्रोसँग घाम नलाग्ने बताइन् । ‘काठमाडौंमा आज पनि राम्रोसँग घाम लाग्दैन । पानी पर्ने, रोकिने, फेरि पानी पर्ने क्रम जारी रहन्छ,’ उनले भनिन् ।

अनौठो लागिरहेको छ : मौसमविद पोखरेल

चैतको महिनामा सामान्यतया बिहानैदेखि दिउँसोसम्म चर्को घाम लाग्ने, साँझपख हावाहुरी चल्ने र चट्याङसहित असिना पानी पर्ने गर्छ । तर अहिले माघे झरीजस्तो मौसम देख्दा आफूलाई अनौठो लागिरहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेल बताउँछन् ।

‘अहिले राति-राति पानी परिरहेको छ । यस्तो त मनसुनको बेलामा हुन्छ, दिनभरी माघेझरी जस्तो पनि देखिन्छ, मलाई अनौठो लागिरहेको छ’ मौसमविद पोखरेलले भने ।

मेडिटेरियन रिजनबाट नेपालसम्म आउने प्रणाली एक-दुई दिनसम्म बसेर जानुपर्नेमा अहिले लामो समयसम्म कायम छ । यसलाई विस्थापित गर्ने अर्को प्रणाली तत्काल आउने सम्भावना नदेखिएकाले आगामी शनिबारसम्मै आकाश राम्रोसँग नउघ्रिने मौसमविद पोखरेलले बताए ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा पनि शनिबारसम्म बदली र वर्षाको प्रक्षेपण छ ।

बुलेटिनमा लेखिएअनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि परामर्श दिंदै महाशाखाले भनेको छ, ‘ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’-अनलाइन खबरबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖