• Saturday 17th of October 2026

गहना लुट्न वृद्धाको हत्या, एकै घरमा डेरा गरी बस्ने युवक पक्राउ


  • धनकुटा खबर
  • .

काभ्रे । काभ्रेपलान्चोकको बनेपामा गहना लुट्न बृद्धाको हत्या भएको खुलेको छ। फागुन १८ गते दिउँसो १ बजेतिर धुलिखेल नगरपालिका-९ की ८३ वर्षीया लक्ष्मी तामाङको हत्या भएको थियो।

उनको हत्या त्यही घरमा डेरा गरी बस्ने सुनसरीको धरान उपमहानगरपालिका ८ का २९ को अभिषेक आचार्जुले गरेको प्रहरीको दाबी छ।

प्रहरीले हत्या आरोपमा बिहीबार पत्रकार सम्मेलन गरी अभिषेकलाई सार्वजनिक गरेको छ।

लक्ष्मी र अभिषेक काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३ भैसेपाटीस्थित बसन्त श्रेष्ठको घरमा एउटै फ्ल्याटमा छुट्टा छुट्टै कोठा लिएर डेरा बस्थे।

लक्ष्मी तामाङको शव आफ्नै कोठामा फेला परेको थियो। तर उनले लगाएका गहना भने भेटिएको थिएन। घटनापछि इलाका प्रहरी कार्यालय बनेपाबाट सोकोसहितको टोली अनुसन्धानका लागि खटिएको थियो।

मृतक लक्ष्मी तामाङ १ वर्षदेखि वसन्त श्रेष्ठको घरको भुइँतलामा एक्लै कोठा लिएर बस्दै आएकी थिइन्।

त्यही घरको भुइँतलामै अभिषेक पनि अर्को कोठामा बस्दै आएका थिए। हत्या आरोपी अभिषेक लागू औषध प्रयोगकर्ता रहेको र घर परिवारबाट अगल बस्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

यसअघि अभिषेकले लक्ष्मी तामाङसँग रातको समयमा पानी र खानेकुरासमेत माग्दै धम्क्याउने गरेका थिए। लक्ष्मीले यसबारे आफ्ना छोराछोरीलाई बताएकी थिइन्।

त्यसपछि आफूलाई असुरक्षित महशुस भएको बृद्धाले बताएकी थिइन्।

तर उक्त घटनापछि युवक कोठामा आउन छाडेका थिए। अभिषेकले बृद्धाको हत्यापछि साथीहरूसँग पैसा धेरै खर्च गर्न थालेको र पहिले चलाएको ऋण पनि तिरेको अनुसन्धानमा खुलेको छ।

प्रहरीले अभिषेकलाई मंगलबार धुलिखेलबाट पक्राउ गरेको थियो। सोधपुछका क्रममा फागुन १७ गते बिहान मृतकको कोठामा गएर हत्या गरेको उनले स्वीकारेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

महिला सुतिरहेको अवस्थामा हत्या गरेर गहना लुटेको स्वीकार गरेको काभ्रेकी एसपी बसुन्धरा खड्काले बताइन्।

लुटेका सुनका गहना बनेपा नगरपालिका-८ चारदोबाटोको विवेक रत्न सुनचाँदी पसलमा राखेर ३६ हजार रुपैयाँ लिएको खुलेको छ।

अभिषेकलाई थप अनुसन्धानका लागि काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ५ दिन म्याद थप गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖