रौतहट । जिल्ला प्रहरी कार्यालय, रौतहटले जारी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ७ जनाविरुद्ध मुद्दा चलाएको छ । जिप्रका, रौतहटकी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक एलिजा गिरीले छ जना निरीक्षक र एक जना अन्य गरी सात जनाविरुद्ध एसइई मर्यादित बनाउने कार्यमा बाधा अवरोध सिर्जना गरेको कसूरमा पक्राउ गरिएको र उनीहरूविरुद्ध मुद्दा चलाइएको बताइन् ।
प्रवक्ता गिरीले श्रीमावि पथराका प्रधानाध्यापक राजदेवी नपा–१ बस्ने उतिचन्द्र यादवलाई सामाजिक सञ्जालमार्फत चिट चोर्न लगाएको कसूरमा पक्राउ गरिएको बताइन् । उनी परीक्षा निरीक्षक रहेका र चिट चोर्न लगाउने कार्यमा उनको सक्रियता देखिएपछि प्रमाणसहित पक्राउ गरिएको प्रनाउ गिरीले बताइन् ।
यसैगरी, सरस्वती मावि, पिपरा परीक्षा केन्द्रका निरीक्षक गढीमाई नपा–७ बस्ने ललनराय यादव, पथरा बुधराम परीक्षा केन्द्रका निरीक्षक मौलापुर नपा–६ बस्ने रामअमोदप्रसाद यादव, शङ्कर मावि सरमुजवाका निरीक्षक मौलापुर नपा–६ बस्ने अवधलाल राम र राकेशकुमार यादवलाई पक्राउ गरिएको प्रवक्ता गिरीले बताइन् ।
यसैगरी, सरस्वती मावि पिपरा परीक्षा केन्द्रमा अनधिकृतरूपमा प्रवेश गरेर चिट गराउने काममा संलग्न राजपुर नपा–१ का रामसोगारथ साहलाई पक्राउ गरी मुद्दा चलाइएको प्रवक्ता गिरीले बताइन् ।
उनले जारी एसइईमा सामाजिक सञ्जालको माध्यमबाट प्रश्नपत्र आउट गर्ने, सोका उत्तरहरू ह्वाट्सएपको माध्यमबाट आदानप्रदान गरी परीक्षाको गोपनीयता भङ्ग गरेको, स्वयम् परीक्षा निरीक्षक भएर चिट चोर्न लगाएर परीक्षाको मर्यादा भङ्ग गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरी शिक्षा ऐन, २०२८ को दफा १७ को उपदफा १ (क) अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताइन् ।
