पोखरा । कास्की प्रहरीले स्वरूप परिवर्तन गरी चलाउने मोटरसाइकलका चालकलाई कडा कारबाही गर्ने भएको छ । साइलेन्सर पाइपबाट चर्को आवाजमा ध्वनि प्रदूषण गरेर चलाउने मोटरसाइकल नियन्त्रण गर्न प्रहरीले विशेष जोड दिएको हो ।
सोमबार साँझ लेकसाइडमा पार्किङ गरेर राखिएको ठाउँबाटै प्रहरीले स्वरूप परिवर्तन गरिएका मोटरसाइकल नियन्त्रणमा लिइएको छ । कास्की प्रहरीका सूचना अधिकारी वसन्तकुमार शर्माले नियन्त्रणमा लिइएका ७ वटा बाइकहरूबारे अनुसन्धान र कारबाही अघि बढाइएको छ ।
प्रहरीले स्वरूप परिवर्तन (मोडिफाई) गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकलहरु पार्किङ स्थलबाट समेत नियन्त्रणमा लिई २५ दिनसम्म थुनामा राखेर कारबाही गर्ने चेतावनी दिएको छ ।
‘स्वरूप परिवर्तन गर्ने, ध्वनि प्रदूषण गर्ने गराउने कार्यमा संलग्न हुनसक्ने वर्कसप सञ्चालक, रिकन्डिसन हाउस, नम्बर प्लेट बनाउने आदीका सञ्चालक, व्यवसायी तथा मजदुरहरूका लागि सचेतना अन्तरक्रिया तथा स्टिकर टाँसिएको छ,’ उनले भने, ‘अब उप्रान्त स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने खालका मोटरसाइकलहरु पार्किङ स्थल समेतबाट नियन्त्रणमा लिई चालकलाई थुनामा राखी कानुनी कारबाही गरिने छ ।’
